लण्डन।
भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडोलाई यस वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिएको छ। उनले आफ्नो देश भेनेजुएलामा प्रजातान्त्रिक अधिकारहरूलाई बढावा दिन र तानाशाहीबाट प्रजातन्त्रतर्फ देशलाई लैजान गरेको अथक प्रयासका लागि यो सम्मान पाएकी हुन्।
नोबेल समितिका अध्यक्ष जोर्गेन वाट्ने फ्राइडेन्सले यो घोषणा गर्दा संसारभर प्रजातन्त्र कमजोर बन्दै गएको र तानाशाही शासनहरू अगाडि बढेको विषयमा चिन्ता व्यक्त गरे। समितिले माचाडोलाई “शान्तिकी एक बहादुर र प्रतिबद्ध योद्धा ” भन्दै सम्मान गरेको छ।
मारियालाई यो पुरस्कार मुख्यतया भेनेजुएलामा प्रजातन्त्रका लागि गरेको संघर्षका कारण दिइएको समितिले स्पष्ट पारेको छ । प्रजातन्त्र भनेको आफ्नो विचार राख्ने, मत हाल्ने र निर्वाचित सरकारबाट प्रतिनिधित्व पाउने अधिकार हो। समिति भन्छ— यो अधिकार नै देशहरूभित्र र देशहरूबीच दिगो शान्तिको आधार हो।
माचाडोले भेनेजुएलाको बढ्दो तानाशाही शासनको विरुद्धमा प्रजातन्त्रका लागि सङ्घर्षको नेतृत्व गरेकी छिन्। उनी पहिले अभियान्त्रणा (इन्जिनियरिङ )र बित्तिय पढेर व्यवसायमा लागेकी थिइन्। तर पछि उनले सुमाते’ जस्ता संस्थाहरू स्थापना गरिन्, जसले स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि काम गर्छन्।
सन् २०१० मा उनी कीर्तिमानी मत ल्याएर राष्ट्रिय सभामा निर्वाचित भएकी थिइन्, तर शासनले उनलाई २०१४ मा पदबाट हटायो। अहिले उनी विपक्षी दल ‘भेन्टे भेनेजुएला’ को नेतृत्व गर्छिन् र देशका सबै प्रजातन्त्रवादी शक्तिहरूलाई एकजुट गरिरहेकी छिन्।
नोबेल समितिले माचाडोलाई अल्फ्रेड नोबेलको इच्छामा भएका सबै तीन मापदण्ड पूरा गरेको बताएको छ: उनले विपक्षीहरूलाई एकताबद्ध गरिन्, देशको सैन्यकरण विरुद्ध अडिग भइन् र प्रजातन्त्रमा शान्तिपूर्ण सङ्क्रमणको लागि निरन्तर समर्थन गरिन्। समितिले उनलाई फरक भविष्यको आशाको प्रतीक मानेको छ, जहाँ नागरिकका अधिकारहरू सुरक्षित हुन्छन् र जनताले शान्तिमा बाँच्न पाउँछन्।
यो पुरस्कार डिसेम्बर १० मा नर्वेको ओस्लोमा एक समारोहका बीच प्रदान गरिनेछ।

















