नेकपा एमालेले गोरखा–२ मा आपराधिक पृष्ठभूमिका चक्रे मिलन (मिलन गुरुङ) लाई टिकट दिएको छ ।
च्यासलमा बसेको सचिवालय बैठकले उनलाई टिकट दिने निर्णय गरेको उपमहासचिव लेखराज भट्टले बताए । उनका अनुसार गोरखा–१, मा भने पूर्वविद्यार्थी नेता आरसी लामिछानेलाई टिकट दिइएको छ ।
गुरुङ भने विवादै विवादले घेरिएका पात्र हुन् । उनी पटक पटक पक्राउ पर्दै हिरासत र जेल पुग्ने गरेका छन् । पछिल्लो पटक उनी गत साउनमा पक्राउ परेका थिए । त्यतिबेला उनीसहितका व्यक्तिलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जको एक होटलबाट पक्राउ गरेको थियो ।
सर्वसाधारणलाई आतंकित पार्ने गतिविधि गरेको आरोप उनीमाथि लागेको थियो । यो मुद्दामा उनी धरौटीमा छुटेका थिए । उनीविरुद्ध भक्तपुरमा ज्यान मार्ने उद्योगको अर्को मुद्दा थियो । काठमाडौंबाट छुटेपछि उनलाई भक्तपुर पठाइएको थियो । भक्तपुर अदालतबाट पनि उनी धरौटीमा रिहा भएका थिए ।

















