मलाला आफूमाथिको आक्रमणपछि पहिलोपटक आफ्नो गृहनगर पुगिन्

– बीबीसी
इस्लामावाद — नोबेल शान्ति पुरस्कार विजेता मलाला युसुफजाई आफूमाथिको आक्रमणपछि पहिलोपटक आफ्नो गृहनगर पुगेकी छन् ।

महिला शिक्षाका लागि अभियान सञ्चालन गरेकी युसुफजाईलाई सन् २०१२ मा तालिवानले आक्रमण गरेका थिए । आक्रमणपछि उपचारका लागि बेलायत पुगेकीे युसुफजाई हाल लन्डनमा बस्छिन् ।

कुनै समय विद्रोहीको नियन्त्रणमा रहेको स्वाटमा उनीमाथि १५ वर्षको उमेरमा आक्रमण गरिएको थियो । यद्यपी सुरक्षाका कारण उनी उक्त क्षेत्रको भ्रमण गर्नेबारे भने केही बताइएको छैन् ।
यसअघि युसुफजाई आफूमाथि आक्रमण भएपछि पहिलोपटक पाकिस्तान फर्केकी थिइन् । पाकिस्तान ओर्लेलगत्तै उनले ‘पाकिस्तानी भू-भागमा फेरी खुट्टा राख्न पाएकोमा निकै खुशी लागेको’ बताएकी थिइन् ।

उनी ५ बर्षपछि शनिबार हेलिकोप्टरबाट गृहनगर स्वाट उपत्यका पुगेकी हुन् । कडा सुरक्षाबीच मिंगोरामा उत्रेकी उनले कक्षा ९ सम्म अध्ययन गरेको विद्यालयका छात्रहरुसँग कुराकानी गरेकी थिइन् । उनले भनिन्, ‘मेरो सपना पुरा भएको छ । मेरा अमुल्य दाजुभाई र दिदिबहिनीको बलिदानका कारण स्वाटमा शान्ति पुर्नस्थापित भएको छ ।’

महिला शिक्षाका लागि गरेको योगदानको कदर गर्दै उनलाई १७ बर्षको उमेरमै नोबेल शान्ति पुरस्कार प्रदान गरिएको थियो । उनी सवैभन्दा कम उमेरमा नोबेल शान्ति पुरस्कार पाउन सफल व्यक्ति हुन् ।

बीबीसीका अनुसार उनको पाकिस्तान भ्रमण ४ दिनका लागि तय भएको हो । उनीसँग मलाला फाउन्डेसनका अधिकारीहरु पनि सँगै भ्रमणमा रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
११ वर्षको उमेर तालिवान शासनको जीवनबारे बीबीसी उर्दुमा लेखेको परिचयविहीन डायरीका कारण युसुफजाईले मानिसहरुको ध्यान केन्द्रीत गर्न सफल भएकी थिइन् । उनले विद्रोहीको दबाबको खुलासा गर्दै महिला शिक्षाको वकालत गरेकी थिइन् ।

साथै उनले सार्वजनिक रुपमा त्यस्ता मुद्दाबारे वकालत गरेपछि उनी तालिवानको नजरमा परेकी थिइन् । सन् २०१३ मा पाकिस्तानी टेलिभिजन कार्यक्रम प्रस्तोता हमिद मिरले बीबीसीलाई भनेका थिए, ‘मलाई मलालाको सुरक्षाबारे गम्भीर चासो थियो ।’

उनीमाथि सन् २०१२ को अक्टुबर ९ मा तालिवानले ‘मलाला को हो ?’ भन्दै सोधेलगत्तै टाउकोमा गोली हानेका थिए । उक्त आक्रमणमा उनका दुई साथीहरुसमेत घाइते भएका थिए । आक्रमणपछि तत्कालै सेनाको सहयोगमा अस्पताल पुर्‍याइएकी उनालाई थप उपचारका लागि बेलायत लगिएको थियो ।

मलालाको अन्तर्राष्ट्रिय स्तरमा उनको योगदानका कारण प्रशंसा गरिएपनि उनका पाकिस्तानी आलोचकले ‘पश्चिमाको दलाल बनेर आएको’ बताउने गरेका छन् । उनीहरुले उक्त कदमबाट ‘पाकिस्तानको शिर झुकेको ’ बताउने गर्छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार