काठमाडौं । जब विश्वकप सुरु हुन्छ, तब फकल्यान्डको युद्ध पनि चर्चामा आउने गरेको छ । फुटबल र फकल्यान्डको युद्धको के छ त्यस्तो सम्बन्ध ? किन यसरी विश्वकपको बेलामा फकल्यान्डको युद्धको चर्चा आउँछ ?
आज भन्दा चार वर्ष अगाडि सन २०१४ मा ब्राजिकलमा भएको विश्कपको बेला पनि फकल्यान्डको युद्ध धेरै चर्चामा आएको थियो । अहिलेको विश्वकपको सुरुवातमा नै फकल्यान्डको युद्ध चर्चामा आएको छ । सन् १९८२ मा फकल्यान्ड टापुका लागि अर्जेन्टिना र बेलायत युद्धमा होमिएका थिए । युद्ध सकेको पनि धेरै वर्ष भइसकेको छ, तीन दशकभन्दा बढी । तर पनि बेला बेलामा चर्चामा आउने गरेको छ ।
के हो फकल्यान्डको युद्ध ?
फकल्यान्ड टापु दुई ठुला (पूर्वी र पश्चिमी) टापुहरू र अन्य साना टापुहरू मिलेर बनेको दक्षिण एटलान्टिक महासागरमा रहेको टापु हो । सन् १९८२ मा अर्जेन्टिना र बेलायतबीच फकल्यान्ड टापुहरू र दक्षिणी जर्जियामाथि भएको विवादले भएको थियो ।

फकल्यान्ड सन् १८३३ देखि ब्रिटिस उपनिवेश थियो । अर्जेन्टिनाले भौगोलिक निकटताका कारण आफ्नो क्षेत्र दाबी गरिरहेको थियो । बेलायतले चाहिँ अन्तर्राष्ट्रिय ‘सिफारिस कानुन’को आडमा आफूले लामो, खुल्ला, निरन्तर र शान्तिपूर्ण रुपमा १८३३ यताकै निरन्तरताका रूपमा टापु आफ्नो अधीनमा हुनुपर्ने दाबी गर्दथ्यो ।
फकल्यान्ड युद्ध १९८२ अप्रिल २ मा अर्जेन्टिनाले अचानक फकल्यान्ड टापुहरूमा धावा बोलेपछि सुरु भएको थियो । यसलाई अर्जेन्टिनाले आफ्नो भूमिमा पुनः आफ्नो उपस्थिति ठानेको थियो भने ब्रिटिसले चाहिँ आफ्नो नियन्त्रणमाथि रहेको भूमिमाथिको हमलाको रूपमा लिएको थियो । त्यस अघि ती टापुहरू बेलायतको उपनिवेश रहेका भए पनि उसले आफ्नो व्यवस्थित सैन्य स्थापना गरेको थिएन । यसको फाइदा लिँदै अप्रिल २ को सबेरै अर्जेन्टिनी बल टापुहरूको राजधानी स्ट्यान्ली बन्दरगाह प्रवेश गरेको थियो । त्यति बेला त्यहाँका ब्रिटिस गभर्नर रेक्स हन्टलाई आत्मसमर्पण गराएर अर्जेन्टिनी बलले राजधानी कब्जा गर्न धेरै समय लगाएन ।
अर्जेन्टिनाले फकल्यान्ड कब्जा गर्दा मुस्किलले ३ घण्टा सङ्घर्ष भएको थियो । यसको कारण के थियो भने त्यति बेला ७५ जना मात्र बेलायती शाही जलसेनाहरू टापु सुरक्षाको रूपमा तैनाथ थिए । त्यस क्रममा एक जना अर्जेन्टिनी अधिकृत मारिए, केही घाइते भए भने केही भवनहरू ध्वस्त भएका थिए । त्यसै दिन दक्षिणी जर्जिया सहित दक्षिण एटलान्टिक महासागरका टापुहरूमा अर्जेन्टिनाले एकैचोटि कब्जा गरेको थियो ।
अर्जेन्टिनाको यस्तो कदमले बेलायत नराम्ररी चिढियो । भोलिपल्टै बेलायतको तल्लो सदन हाउस अफ कमन्समा यस विषयमा तीव्र बहस भयो । प्रधानमन्त्री मार्गरेट थ्याचरले यसैबेला आफ्ना सैन्य बल दक्षिण एटलान्टिक महासागरतिर पठाइने घोषणा गरिन् । अन्तर्राष्ट्रिय शक्तिहरू पनि शक्तिशाली बेलायतकै पक्षमा लागे । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्ले टापुहरूमा अर्जेन्टिनाले गरेको कब्जाको भर्त्सना गर्दै आफ्ना सेनाहरू तुरुन्त फिर्ता पठाउन माग गर्यो । यता दुवै देशले युद्धको कुनै घोषणा नगरीकन त्यसका लागि सशक्त तयारी थाले ।
युद्ध धेरै लामो समय चलेन, तर जति चल्यो, निकै जोडदार चलेको थियो । त्यो यही युद्ध थियो, जसमा बेलायतले आफ्नो गोर्खाली सेनालाई उतारेको थियो । फकल्यान्ड युद्धमा ती गोर्खाली सेनाले के के गरे, थुप्रै युद्ध इतिहासका किताब लेखिएका छन् । त्यो युद्धमा वास्तवमै के भएको थियो, त्यसबारे बयान गर्न अझै धेरै गोर्खाली फौजका ती जवानहरू भेटिन्छन् । युद्ध जितेपछि बेलायती मिडियाले गोर्खाज फौजको खुबै बखान गरेको थियो । नायक जस्तै गरेर उनीहरूलाई प्रस्तुत गरिएको थियो । तर केही इतिहासकार के मान्छन् भने सायद ती गोर्खाली सैनिक अर्जेन्टिनीहरूप्रति केही बढी नै निर्दयी भएका थिए ।
अर्जेन्टिनाले नेपाललाई घृणा गर्छ ?
अर्जेन्टिनाले नेपाललाई घृणा गर्छ भनेर दृष्टिकोण फैल्याउनेहरूले अर्जेन्टिनालाई तीन वटा आरोप लगाउने गरेका छन् । पहिलो, अर्जेन्टिना एक मात्र देश हो, जसले नेपालीलाई प्रवेशाज्ञा दिँदैन । दोस्रो, फकल्यान्ड युद्धका कारण अर्जेन्टिनीहरूले नेपालको झन्डा जलाएका थिए । तेस्रो, उनीहरूको विद्यालयको पाठ्यक्रममा गोरखाहरू हाम्रा शत्रु हुन् भनेर लेखिएको छ ।

यी सत्य हुन् वा हल्ला ? राम्रो प्रश्नको राम्रो उत्तर दिने नारा रहेको क्युओरा डटकममा यही प्रश्नबारे स्वयम् अर्जेन्टिनीहरूले भने अनभिज्ञता रहेको र प्रसङ्गले आफूलाई आश्चर्य लागेको लेखेका छन् । त्यसमध्ये रोड्रिगो हेरान्जले गोरखाहरूलाई आफूहरूले घृणा गर्न नसक्ने लेखेका छन् । यसै गरी लुइस गोन्जालेजले भने अर्जेन्टिनी युवाहरू गोरखाहरूबारे अपरिचित रहेको भन्दै गोरखाहरू किन अरूका लागि लड्न गर्व गर्छन् भनेर चाहिँ आश्चर्य लागेको लेखेका छन् ।
रोड्रिगो हेरान्ज लेख्छन् ‘म अर्जेन्टिनाको हुँ र मेरो सहर फकल्यान्ड जसलाई यहाँ मालभिनास भनिन्छ । मैले गोरखाहरूको बारेमा कहिल्यै सुनेको थिइनँ । त्यस कारण उनीहरूका बारे मैले गुगलमा खोज्नुपर्यो । त्यसैले मैले के भन्न सक्छु भने मेरो देशका बहुसङ्ख्यक जनताले गोरखा को हुन् भनेर जानेका छैनन् । त्यसैले हामी उनीहरूलाई घृणा गर्न सक्दैनौँ ।
इलाइजर लेख्छन् ‘म अर्जेन्टिनाको हुँ, र म त केही पनि जान्दिनँ गोरखाहरू के हुन् ? खासमा मैले नेपाल पनि कहाँ पर्छ भनेर जाँच गरेँ । भारतको नजिक रहेछ । यसले के प्रस्ट पार्दछ भने अर्जेन्टिनाले नेपाललाई घृणा गर्छ भन्ने आरोपको आधार छैन । वास्तवमा यो हल्ला विश्वकप फुटबलको बेला नेपालमा ब्राजिल समर्थकहरूको भीडले बढी उच्चारण गरेकोले घनीभूत भएको हो ।’ यो हल्ला नेपालमा पछिल्लो विश्वकपमा नै किन बढी चर्चामा थियो भने अर्जेन्टिना र ब्राजिल फाइनलमा भिड्नेछन् भन्ने फुटबल पण्डितहरूको आँकलन थियो ।
नेपाल-अर्जेन्टिना सम्बन्ध
नेपाल र अर्जेन्टिनाबीच कूटनीतिक दौत्य सम्बन्ध १ जनवरी १९६२ मा नै स्थापित भएको हो । दुई देशको सम्बन्ध आपसी हित, समझदारी र मित्रतामा आधारित छ । नेपालका लागि अर्जेन्टिनाका राजदूत आवासीय रुपमा दिल्लीमा रहन्छन् भने आवासीय रुपमा न्यूयोर्कमा रहने संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधिले अर्जेन्टिनाको राजदूतको काम गर्दछन् ।
नेपालका पूर्व प्रधानमन्त्री कीर्तिनिधि विष्ट अर्जेन्टिनी राष्ट्रपति कार्लोस सउल मेनेमको शपथ समारोहमा सन् १९८९ मा अर्जेन्टिना भ्रमणमा पुगेका थिए । अर्जेन्टिनी सरकारले अहिले नेपालमा छाला प्रशोधनको प्राविधिक सहयोगलाई बढावा दिन चासो लिइरहेको छ । सन् २०१० मा एघार सय दुई जना र २०११ मा बाइस सय छब्बीस अर्जेन्टिनी पर्यटकहरू नेपाल आएको परराष्ट्र मन्त्रालयको वेभसाइटमा उल्लेख छ ।
मेस्सी नै नजन्मी भएको युद्धमा उनको सम्बन्ध के ?
अहिले रुसमा विश्कप जारी छ । अर्जेन्टिनालाई विश्वकप विजेताको एउटा दावेदारी टिम मानिएको थियो । तर दुई खेलमा अर्जेटिनाले राम्रोसँग खेल्न सकेन । पहिलो खेलकम नवप्रवेशी आइसल्याण्डसँग बराबरी खेलेको थियो । दोस्रो खेलमा क्रोएशियासँग लज्जास्पद रूपमा पराजित भयो ।

अब अर्जेन्टिनाको विश्वकप फुटबल यात्रा कठिन बनेको छ । सबैको नजरमा रहेका लियोनल मेस्सीबाट आस मारेका छन् । गत संस्करणको उपविजेता समेत रहेको अर्जेन्टिनाको यो हारसँगै नकआउट चरणको यात्रा थप कठिन बनेको छ ।
विश्वका महान फुलबलरहरुले मेस्सीको धेरै प्रशंसा पनि गरेका छन् । नेपालमा पनि मेस्सीकै सबै भन्दा बढी समर्थक छ । मेस्सीले बार्सीलोना क्लबबाट धेरै लिग उपाधिहरू जिताएका छन् । तर आफ्नो देशको टिमबाट भने उपाधि दिलाउन सकेका छैनन् ।
दुई पटकको विश्वकप विजेता अर्जेन्टिनाले चार वर्ष अघि ब्राजिलमा सम्पन्न विश्वकपको फाइनल खेलेको थियो । थपिएको समयमा जर्मनीसँग १–० ले पराजित भएको अर्जेन्टिनाले २०१५ र २०१६ को फाइनलमा चिलीलाई नतिजा सुम्पिएको थियो । ३ वटा फाइनलमा अभागी बनेका मेसी अर्जेन्टिनालाई अन्तर्राष्ट्रिय उपाधि दिलाउने अवसरबाट चुकेका थिए । विश्वकपको उपाधि उचाल्ने सपना मेसीका लागि यो अन्तिम पटक पनि हुन सक्छ । अर्को पटक हुने विश्वकपमा भाल लिने सम्भावना कमै रहेको छ ।
मेस्सीलाई फुटबलका महान् खेलाडी मान्न तयार नहुनेहरू पनि छन्, विश्वकप जित्न नसकेको खोट देखाउँदै । सायद फेरि एकपल्ट मेसीलाई फकल्यान्ड युद्धले प्रेरित गर्ने हो कि ? जति बेला फकल्यान्ड युद्ध चलेको थियो, मेसी जन्मेका थिएनन् । न त उनले सन् १९८६ को विश्वकपमा म्याराडोनाले एक्लैले अर्जेन्टिनालाई विश्वकप दिलाएको हेर्न पाए ।
विश्वकप इतिहासमै म्याराडोनाको त्यस अद्वितीय खेललाई सर्वाधिक महत्त्वको क्षण मानिन्छ । म्याराडोनालाई पेलेसँगै पनि दाँज्ने प्रयास हुन्छ, को राम्रो फुटबल खेलाडी भनेर । पेलेको जमानामा उनको ब्राजिली टिम राम्रो हुने गथ्र्यो, म्याराडोनासँग मेक्सिकोमा औसत टिम थियो । तर यही टिममा टिकेर उनले विश्वकप जिते । त्यसैले पेलेभन्दा म्याराडोना फुटबलका राम्रा खेलाडी हुन भन्नेहरू पनि छन् । फकल्यान्ड युद्ध र म्याराडोना, अर्जेन्टिनी फुटबलका लागि सधैँ प्रेरणा हुने गर्छन् नै । मेसी र उनको अहिलेको अर्जेन्टिनी टिमलाई पनि ।
किन हो, नयाँ पुस्ताका नेपाली फुटबल पारखी पनि अर्जेन्टिनी टिममै भुले । धेरैभन्दा धेरै नेपालीले अर्जेन्टिनी फुटबलको प्रशंसक गरेको पाइन्छ । नेपालीले मात्रै होइन विश्वको महान खेलाडीले पनि मेस्सीको प्रशंसा गरेको पाइन्छ । एउटा तथ्य निश्चित छ, मेसी र उनका साथीहरूले साँच्चै यसपल्ट विश्वकप जित्न सक्यो भने त्यसले दिने खुसी जति अर्जेन्टिनामा हुनेछ, त्योभन्दा कम खुसी अर्जेन्टिनी फुटबललाई समर्थन गर्ने नेपालीलाई पनि हुने छैन ।
मेस्सीको सहयोग
मेस्सीको सहयोगमा रामेछापको ओखे्रनी च्यास्कुमा रहेको स्वास्थ्य चौकीको निर्माण गरिएको छ । भूकम्पले क्षतविक्षत भएको चौकी वार्सिलोनाका स्टार मेस्सीको सहयोगमा निर्माण गरिएपछि हाल त्यस्का लागि खानेपानीको व्यवस्था पनि गरिएको छ ।

वार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्दै आएका अर्जेन्टिनाका चर्चित खेलाडी मेस्सीको सहयोग र युनिसेफको पहलमा नेपालका बिभिन्न जिल्लामा आधा दर्जन बढी स्वास्थ्य चौकीहरु निर्माण भएका छन् । उनै मेस्सीको सहयोगमा रामेछापको च्यास्कुमा बनेको स्वास्थ्य चौकलाई खानेपानीको अभाव भएपनि अब त्यो पनि पूरा भएको छ । स्वास्थ्य चौकीमा सोलार लिफ्ट सिस्टमबाट खानेपानी सेवा पुर्याइएको छ ।
२३ लाख रुपैयाँ युनिसेफको लगानी तथा ६ लाख रुपिँया स्थानीय जनश्रमदान गरी २९ लाख रुपैयाँमा उक्त खानेपानी आयोजना बनेको छ । स्वास्थ्य संस्थासँगै रहेको वस्तीमा समेत खानेपानीको चरम अभाव हुँदा स्थानीय नागरिकहरु एक ग्रागी पानी लिन २ घण्टा टाढा ओखरवोट साउने खोलावाट पानी वोकेर जीविको पार्जन गर्दै आएका थिए ।
















