
लिस्वन
नेपालका परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली पोर्तुगलका परराष्ट्र मन्त्री अगस्तु सान्तोस सिल्भाको मैत्रीपूर्ण निमन्त्रणामा जुलाई २४ तारिख पोर्तुगल आउने भएका छन् । नेपालका परराष्ट्र मन्त्रीस्तरको पोर्तुगल भ्रमण यो पहिलो भएको जनाइएको छ ।
बेलायतपछि सबैभन्दा बढी नेपाली रहेको पोर्तुगलमा परराष्ट्र मन्त्रीको यो भ्रमणलाई ठुलो महत्त्वकासाथ हेरिएको छ । मुलतः पोर्तुगलमा रहेका नेपालीहरुको चासो, समस्या र द्विपक्षीय हितहरुको बारेमा छलफल हुने बताइएको छ ।
पोर्तुगलमा नेपाली दूतावास र नेपालमा पोर्तुगिस दूतावास स्थापनाको मुद्दा पहिलो प्राथमिकतामा राखिएको परराष्ट्र मन्त्रालय श्रोतले बतायो ।
नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य समेत रहेका ज्ञवाली आएको अवसरमा प्रवासी नेपाली मंच पोर्तुगल र नेपाली जनप्रगतिशील मंच पोर्तुगलले महत्त्वपूर्ण अन्तक्रिया कार्यक्रम पनि आयोजना गर्ने तयारी रहेको प्रवासी नेपाली मंच पोर्तुगलका अध्यक्ष गोबिन्द पौडेलले जानकारी दिए । समय मिलेसम्म पत्रकारहरुसँग पनि अन्तर क्रिया गर्ने योजना रहेको जनाइएको छ । पोर्तुगलका नेपालीहरुका लागि यो अत्यन्तै महत्वपूर्ण अवसर हो, हामी यसलाई अधिकतम फलदायी बनाउन प्रयास गर्छौं, नेपाली जनप्रगतिशील मंच पोर्तुगलका अध्यक्ष नारायण सुबेदीले भने ।
काठमाडौकालागि पोर्तुगिस अवैतनिक बाणिज्यदुत राजेन्द्र खेतान र पोर्तुगल हेर्ने नेपाली दूतावास फ्रान्स र लिस्बोनका लागि अवैतनिक बाणिज्यदुत कार्यलय भ्रमणलाई सफल बनाउन विशेष सक्रिय रहेको बुझिएको छ ।
पोर्तुगल भ्रमणपछि मन्त्री ज्ञवाली प्रवासी नेपाली मंचहरुको युरोप स्तरीय भेलालाई सम्बोधन गर्न बेल्जियम जाने कार्यक्रम छ । त्यसपछि एनआरएनको युरोप भेलाको प्रमुख अतिथिको रूपमा जुलाई ३० तारिख उनी लग्जेम्बर्ग पुग्ने छन् ।
















