
संयुक्त राष्ट्रसंघका पूर्व महासचिव कोफी अन्नानको निधन भएको छ। नोवेल शान्ति पुरस्कार विजेता अन्नानको ८० वर्षको उमेरमा निधन भएको हो।
घानाका कूटनीतिज्ञ अन्नानको उपचारका क्रममा स्वीटजरल्यान्डमा निधन भएको हो । उनी केही वर्षदेखि जेनेभामा बस्दै आएका थिए ।
कोफी अन्नान फाउन्डेशनले ‘केही समयदेखि बिरामी रहेका अन्नानले शनिबार शान्तिपूर्ण रुपमा देहत्याग गरेको’ जनाएको छ । फाउन्डेशनले ‘विश्व शान्तिका लागि पूर्ण प्रतिबद्ध एक राजनेता तथा अन्तर्राष्ट्रिय व्यक्तित्व गुमाएको’ उल्लेख गरेको छ ।
राष्ट्रसंघको ट्वीटर पेजमा लेखिएको छ, ‘हामीले एक महान् व्यक्ति तथा एक दूरदर्शी नेता गुमाएका छौं ।’ उनी राष्ट्रसंघको महासचिव बन्ने पहिलो अफ्रिकी नागरिक हुन् ।
उनी सन् १९९७ देखि २००६ सम्म दुई पटक संयुक्त राष्ट्र संघको महासचिव बनेका थिए । अन्नान सन् ८ अप्रिल १९३८ मा घानको कुमासीमा जन्मिएका थिए। उनका श्रीमती र तीन सन्तान छन् ।
अन्नान राष्ट्रसंघका सातौ महासचिव हुन् ।
















