प्रसादको लिरिकल भिडियोसहित फस्टलुक सार्वजनिक

काठमाडौं : फिल्म ‘प्रसाद’को ‘लै लै’ बोलको गीतको लिरिकल भिडियोसहित फस्टलुक सार्वजनिक गरिएको छ । भिडियोमा चलचित्रका दृश्य समेटिएका छन् । दृश्यमा चलचित्रका मुख्य कलाकार विपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेत अटाएका छन् ।

निःसन्तान दम्पतीबीचको माया र सम्बन्धको कथा बोल्ने प्रसादमा विपिन र नम्रताले दम्पतीको भूमिका निर्वाह गरेका छन् ।

लिरिकल भिडियोमा विपिनलाई दर्जीको भूमिकामा देख्न सकिन्छ । केतन क्षत्रीले गाएको ‘लै लै’ बोलको उक्त गीत गणेश शाहीले लेखेका हुन् भने संगीत सुवास भुसालले दिएका छन् । गीतको एरेन्ज उदयराज पौडेलले गरेका हुन् ।

चलचित्रका निर्देशक दिनेश राउतले प्रसादको पूरा मर्मलाई ‘लै लै’ बोलको गीतले समेट्ने भएकाले नै चलचित्रको फस्टलुकसहित यो गीत सार्वजनिक गरिएको बताए । सुवास थापाको निर्माण रहेको प्रसादको पटकथा तथा संवाद सुशील पौडेलले तयार पारेका हुन् । चलचित्रमा सन्तान सुख नपाउँदा उत्पन्न मानसिक, सामाजिक द्वन्द्वले आपसी सम्बन्धमा के कस्तो असर पुयाउन सक्छ भन्ने देखाउन खोजिएको छ ।

गीत रिलिजसँगै फिल्म युनिट आइतबार साँझ नै त्यसको प्रतिक्रिया बुझ्न र फिल्मबारेमा जानकारी दिन फेसबुकमा प्रत्यक्ष कुराकानीका लागि प्रस्तुत हुन लागेको निर्देशक राउतले बताए । प्रसाद मंसिर २१ देखि देशव्यापी प्रदर्शनमा आउँदै छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार