योगेन्द्रमिलन छन्त्याल, लिस्बन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा साम्यवाद कार्यान्वयन हुनै नसक्ने ठोकुवा गरेका छन् । पौडेलले लेनिन र माओत्सेतुङजस्ता संसार हल्लाउनसक्ने नेताले पनि कार्ल मार्क्सको सिद्धान्त कार्यान्वयन गर्न नसकेको प्रसङ्ग उल्लेख गर्दै ओली र प्रचन्ड आफूहरु कमाउ धन्दा गर्ने निमुखाका लागि केही नगर्ने नेता भएको आरोप लगाए ।
‘गाउँ गाउँमा रोजगार र आम्दानी भए नेपालीहरु विदेशिनुपर्ने छैन ।’ विदेशिएका नेपालीहरुले राष्ट्रियताको सवालमा एक पटकको नेपाली सधैंको नेपाली हुने कुरामा ढुक्क हुनका लागि पौडेलले विश्वास दिलाउने प्रयास गरे, ‘तपाईंहरु नेपाल फर्कनुस्, यहाँ सिकेका ज्ञान सीपसहित विभिन्न क्षेत्रमा लगानीमा गर्नुहोस्, अनि देश समृद्ध बन्छ ।’

संघीयता कार्यान्वयनमा सरकार नै इमान्दार नरहेको पौडेलको जिकिर छ । पौडेलले निर्वाचनमा काँग्रेसको पराजयबारे निर्मम समीक्षा गरेर पार्टीलाई पुनर्जीवन प्रदान गर्न ढिलाइ गर्न नहुने धारणा पनि राखे ।
पोर्तुगलमा नेपाली जनसम्पर्क समितिले आयोजना गरेको ‘संघीयता कार्यान्वयनमा चुनौति र काँग्रेसको भूमिका’ विषयक अन्तरकृया कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष नगेन्द्रकुमार कुमाल, लिस्बनका लागि अवैतनिक वाणिज्यदूत मकरबहादुर हमाल, युरोप काँग्रेस समन्वय समितिका वरिष्ठ उपाध्यक्ष पूर्ण हमाल, गैह्र आवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद सदस्य नरेन्द्रबहादुर हमाल, समितिका निवर्तमान अध्यक्ष लक्ष्मीप्रसाद सापकोटा, एनआरएनए पोर्तुगलका अध्यक्ष कुबेर कार्की, जनजाति महासंघ पोर्तुगलका कावा अध्यक्ष राजेन्द्र शेर्पा, प्रवासी नेपाली मञ्चका गोविन्द पौडेल, अन्तरराष्ट्रिय नेपाली समाजका धन शेर्पा, संघीय नेपाली समाजका सोम शेर्पा, नेपाली एकता समाजका अर्जुन सुनार र सुशील शर्मा गैरेलगायतले आ-आफ्नो मन्तव्य राखेका थिए ।
जिनाजियो हलमा सम्पन्न कार्यक्रमको अध्यक्षता बिनोद घिमिरे, स्वागत रमेश कँडेल र सञ्चालन दामोदर सुवेदीले गरेका थिए । यूरोप भ्रमणमा रहेका पौडेल शुक्रबार स्पेन जानेछन् ।
फोटो तथा भिडियो : प्रविन धिताल, लेन्स आर्ट
















