काठमाडौं । सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने ट्वान्टी–२० विश्वकपको एशिया उप–क्षेत्रीय छनोट प्रतियोगिता अन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आज म्यानमारबिरुद्ध खेल्दैछ ।

नेपाल र म्यानमारबीचको खेल नेपाली समयअनुसार आज मध्याह्न सवा १२ बजेदेखि सुरु हुनेछ । यस प्रतियोगितामा नेपाल र म्यानमारसहित आयोजक मलेसिया, भुटान, चीन, सिंगापुर र थाइल्याण्ड छन् । यो प्रतियोगिताका शीर्ष तीन टोलीले एशियाली क्षेत्रीय छनोट खेल्नेछ ।
एशियाली उपक्षेत्रीय छनोटको समूह ए बाट युएई कुवेत र कतार छनोट भइसकेका छन् । सन् २००६ को एसीसी ट्रफीमा नेपालले पहिलो पटक म्यानमारसँग पहिलोपटक खेलेको थियो । त्यसयत नेपाली टोलीले अहिलेसम्म म्यानमारबिरुद्ध खेलेको छैन ।
पहिलो पटक खेल्दा नै १० विकेटले पराजित गरेको थियो । म्यानमारलाई १० रनमै समेटेको नेपालले २ बलमै खेल जितेको थियो र त्यो खेल विश्वकै सबैभन्दा छोटो खेल हो ।
















