
काठमाडौँ : सन् २०२० मा अष्ट्रेलियामा हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० टीट्वेन्टी विश्वकपअन्तर्गत पहिलो चरणको एसियाली छनोट प्रतियोगितामा नेपालले थाइल्यान्डलाई १७३ रनको चुनौती दिएको छ ।
मलेसियाको वायुमास ओभल मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङमा उत्रेको नेपालले करण केसीको उत्कृष्ट प्रदर्शनको सहयोगमा पुरै ओभर खेल्दै ७ विकेटको क्षतिमा १७२ रन बनाएको हो ।
शनिबार भएको आफ्नो दोस्रो खेलमा आयोजक मलेसियालाई आठ विकेटले पराजित गरेपछि उत्साहित नेपाली टोलीले आज पनि आक्रमक ब्याटिङ गरेको थियो ।
नेपालको स्कोर मजबुत अवस्थामा पुर्याउने क्रममा आठौँ क्रममा आएका करण केसीले १४ बलमा शानदार ४० रन बनाए । उनले त्यसक्रममा लगतार तीन छक्का पनि हाने । नटआउट रहेक उनले ४ छक्का र २ चौका पनि हाने ।
त्यसैगरी नेपालका लागि शरद भेसवाकरले २८ बलमा ३४ रनको योगदान दिए । दिपेन्द्रसिंह एरीले ३० रन बनाए भने ओपनर अनिल साहले पनि २५ रनको पारी खेले ।
थाइल्यान्डका लागि पायुपुथ सुङ्गार्दले सर्वधिक ४ विकेट लिए । उसका लागि भिचनाथ सिंहले पनि दुई विकेट लिन सफल भए ।
















