दशैंको खानपानबारे चिकित्सकहरुको सुझाव

उत्सव र चाडपर्व भन्ने वित्तिकै अधिकांश नेपाली समाजले थरि थरिका मीठा मीठा परिकार बनाएर खाने अवसरका रुपमा बुझ्ने गर्दछन् । त्यस्ता परिकारहरुमा मासु र मासुजन्य परिकारको बाहुल्यता रहने गरेको छ । तर चाडपर्वको खुसी साट्नका लागि खाने र खुवाउने मासुका परिकारहरु सहि तरिकाले खाइएन भने मानव स्वास्थ्यका लागि उल्टै हानिकारक हुन सक्ने भन्दै चिकित्सकहरु बताउँछन् । त्यसैले चाडपर्वमा खानपानमा बिशेष ध्यान दिनुपर्ने उनीहरुको सुझाब छ ।

चाडपर्वमा मासु र मासुजन्य परिकार खाँदा विशेष ध्यान दिनुपर्ने विशेषज्ञ चिकित्सकहरुको सुझाव छ । मासु पकाउँदा धेरै बेरसम्म ठिक्कको आगोमा पकाउनु पर्छ । मासुका विभिन्न परिकार बनाउने क्रममा धेरैले पोलेको र भुटेको मासु रुचाउने गरिन्छ । तर उच्च तापक्रममा मासु तारेको पोलेको र भुटेको खानाले क्यान्सरको जोखिम रहने चिकित्सकहरुको भनाइ छ । उच्च तापक्रममा मासु फ्राई गर्दा हेटेरोसाइकिल्क र पोलिसाइकिल्क जस्ता केमिकल निस्किने र उक्त केमिकलले क्यान्सरको जोखिम बढ्ने भएकाले मासु पकाउँदा सजक रहन चिकित्सकहरुको सुझाब छ ।

मासु धेरै सेवन गर्नाले मोटोपन बढ्ने र त्यसले शरीरमा एस्ट्रोजेन हर्मन बढ्ने गर्दछ । सो हर्मोनले क्यान्सरको खतरा बढ्ने अनुसन्धानहरुले प्रमाणित गरेको छ ।

दिनहु मासुको परिकार खानु पनि स्वास्थ्यका लागि हानिकारक हुने विज्ञहरु बताउँछन् । तथ्यांक अनुसार दिनको १२० ग्राम भन्दा धेरै मासुको सेवनले क्यान्सर हुने खतरा बढि रहन्छ । मासु संगै साग,फलफुल र रेसादार खानेकुरा खाएमा सम्भावित रोगहरुबाट बच्न सकिने चिकित्सकहरु सुझाउछन् ।

मासु पोल्दा र सुख्खा हुने गरी भुट्दा प्रयोग हुने दाउरा र ग्यासबाट हाइड्रोकार्बन उत्पन्न हुन्छ । जसले पेट ,ठुलो आन्द्रा पोस्टेज, कलेजो फोक्सो छाला जस्ता अंगहरुको क्यान्सर हुने जोखिम बढी रहन्छ । त्यस्तै मासु फ्राई गर्दा निस्कने तत्व एचसीए र पीएएचयसले मानव शरीरमा विभिन्न ट्युमरहरु पैदा हुने खतरा रहन्छ । खानपानकै कारण पछिल्लो समयमा क्यान्सरको बिरामी नेपालमा बढिरहेको चिकित्सकहरु बताउँछन् ।

साथै मासु प्रयोग गर्दा राँगा, खसी र बोकाको भन्दा कुखुरा र माछा प्रयोग गर्न चिकित्सकले सुझाएका छन् । मासुसंग कोक फेन्टा र मदिरा पिउनु पनि घातक हुने चिकित्सकहरुको कथन छ ।

चाडपर्वको निहूँमा क्षणिक मज्जाका नाममा आफ्नो स्वास्थ्यलाई नै जोखिममा पार्नु पक्कै पनि बुद्दिमानी कार्य होइन । त्यसैले दशैंमा खानपान गर्नुअघि स्वास्थ्यलाई ख्याल गर्न चिकित्सकहरुको सुझाव छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार