विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्ने प्रथम नागरिकमध्येका एक सर एडमन्ड हिलारीकी नातिनी लिली हिलारीले आगामी सन् २०२० मा सगरमाथा आरोहण गर्ने तयारी गरेकी छिन् । आफ्ना हजुरबुबाले सगरमाथाको चुचुरोमा पहिलो पटक पाइला टेकेको ६५ वर्षपछि उनी नेपालको हिमालमा पाइला टेक्ने योजना बनाउँदै छिन् ।

उनका हजुरबुबाको सन् २००८ मा निधन भएदेखि नै उनको सगरमाथाको सर्वोच्च शिखरमा पुग्ने योजना बनेको थियो । तर, यो मूर्तरुपमा आउन १० वर्ष लाग्यो । यसअघि उनले विभिन्न तालिम लिइसकेकी छिन् भने अन्य हिमालहरु पनि अरोहण गरेकी छिन् । हजुरबुबाको कारणले मात्र होइन उनका बुबाले समेत सगरमाथाको दुई पटक आरोहण गरिसकेका कारण उनमा यो प्रवल ईच्छा थियो ।
उनले भनेकी छिन्, “मलाई सगरमाथा आरोहण गर्दाका चुनौतीहरुबारे पनि थाहा छ ।” तर उनलाई हजुरबुबाले भनेको अहिले पनि याद छ, “तिमी त्यही गर जुन तिमीलाई मन पर्छ ।” लिली एक्लै हुने छैनन् उनीसँग उसको दाजु एलेक्स, जर्ज र बुबा आमा पनि हुनेछन् । उनीहरु पनि छोरीसँगै नेपाल जाने तयारीमा छन् ।
















