गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद पोर्तुगलले एनआरएन बेलायतका अध्यक्ष योगकुमार फगामी, पूर्व अध्यक्ष योगेन क्षेत्री र न्युजिल्यान्डका पूर्व अध्यक्ष चक्रबहादुर थापा लगायतलाई स्वागत गर्दै अन्तरकृया सम्पन्न गरेको छ । हिजो मङ्गलबार लिस्बोनस्थित संघको कार्यालयमा स्वागत तथा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको हो ।

युके अध्यक्ष फगामीले पोर्तुगलमा राजदूतावास अत्यावश्यक भएको कुरा आफूले पनि महशुश गरेको प्रष्ट्याए । यो अभियानमा एनआरएनए बेलायतको तर्फबाट जस्तोसुकै सहयोग गर्न तयार रहेको प्रतिवद्धता समेत प्रकट गरे ।
पूर्व अध्यक्ष क्षेत्रीले पुन हिल घुम्न जानका लागि सबैलाई अनुरोध गरे । भने, ‘जिन्दगीमा एकचोटी पुग्नैपर्ने ठाउँ हो पुन हिल । हामी विदेशका आधुनिक शहरहरु घुम्ने गर्छौ । आफ्नो देशको स्वर्गजस्तो आभास मिल्ने पुन हिल पुग्दैनौ । एकचोटी त्यहाँ पुग्नुभयो भने सूर्य उदाएको दृष्य हेर्दा अचम्म पर्नु हुनेछ ।’
पूर्व अध्यक्ष थापाले म्याग्देलीहरुको कार्यक्रममा आएका आफूहरुलाई पोर्तुगलमा यसरी न्यानो स्वागत पाउनु एनआरएनएकै सुन्दरता र सौन्दर्यता भएको बताए । कार्यक्रममा हालै नेपालमा सम्पन्न विज्ञ सम्मेलनबारे पनि छलफल भएको थियो ।
















