
काठमाडौं- चलचित्र मालिकामा रेखा थापाले जाजरकोटकी कमला वलीलाई ‘हिरो’ बनाइन्। कार्तिक १६ गतेदेखि रिलिज हुने चलचित्रमा भेरी नगरपालिका १ कालेगाउँकी १५ वर्षिया कमला वलीको मुख्य भूमिका छ। तर फिल्म सुटिङ गर्नु भन्दा पहिले आफुले रातो बंगला पढ्दै गरेकी एक किशोरीलाई चलचित्रमा अभिनय गराउन खोजेको रेखा थापाले बताएकी छन्। ‘चलचित्रमा काम गर्न सजिलो होला भनेर यहाँबाट छान्न खोजेकी थिए तर जहाँको कथा त्यहीँकै कलाकार खोज्यौं र कमलालाई फेरा पार्यौं’, नागरिक संवादमा कुरा गर्दै थापाले भनिन्। ड्रेन्ड आर्टिस्टलाई फिल्ममा लिएर काम गर्ने भन्ने सोच भए पनि अन्त्यमा कमला वलीलाई चलचित्रको मुख्य भूमिकामा लिएको थापाको भनाई छ।

रेखा थापाका साथ कमला वली। तस्बिर : दिपेन्द्र रोका
लामो प्रयास पछि कमलालाई चलचित्रमा ल्याउन सफल भएको चलचित्रका परिकल्पनाकार नरबहादुर कार्कीले बताए। ‘उनको परिवार, शिक्षक र स्थानीय पत्रकारहरुको प्रयासमा चलचित्रमा काम गर्न राजी गरायौं’, कार्कीले भने।
कमलालार्इ अहिले भने ठूलो पर्दाको मुख्य पात्र भएको कुरा सपना जस्तै लाग्छ। चलचित्र सम्वन्धी ज्ञान मात्र होइन अभिनयबारे कुनै पनि ज्ञान नलिएकी कमला मालिका मार्फत एकाएक चर्चामा आएकी छिन्।
मालिका लाखौं नेपाली छोरीहरुका लागि सुन्दर भविष्य निर्माण गर्ने माध्यम र प्रेरणा बन्नेमा आफुलाई विश्वास भएको कमलाले बताइन्। बालविवाह र महिला हिंसाले पीडित बालिका र महिलालार्इ आफूमाथिको हिंसाका विरुद्ध लाग्न चलचित्रले प्रेरणा दिने उनको भनाई छ।
















