पीपीएल : पारस नेतृत्वकाे चितवन राइनाेजले ज्ञानेन्द्र नेतृत्वकाे काठमाडाैँलार्इ हरायाे


पोखरा । पाेखरा प्रिमियर लिगअन्तर्गत आज भएको खेलमा चितवन राइनोजले काठमाडौं रोयल्सविरुद्ध १३ रनको जित हासिल गरेको छ ।

प्रतियोगितामा पारस खड्काको टोली चितवनले लगातार दोस्रो जित निकाल्दा ज्ञानेन्द्र मल्ल नेतृत्वको टोली काठमाडौं रोयल्सले भने तेस्रो खेलमा पहिलो हार ब्यहोरेको छ ।

पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १४९ रन बनाएको थियो । चितवनका लागि ओपनर हरिशंकर साहले ६० रनको अर्धशतकीय पारी खेले ।

चितवनका लागि स्मित पटेलले ३१, अनिल साहले २७, कप्तान पारस खड्काले १४ तथा सन्नी पटेलले १३ रन बनाए । बलिङमा काठमाडौंका बसन्त रेग्मीले २ विकेट लिए । १५० रनको लक्ष्य पछ्याएको काठमाडौंले निर्धारित ओभरमा ९ विकेट गुमाएर १३६ रनमात्र जोड्न सकेपछि चितवनको १३ रनको जित निश्चित भयो ।

काठमाडौंका लागि शीर्ष क्रमका ब्याट्सम्यानले सन्तोषजनक प्रदर्शन गरे पनि मध्यक्रम चल्न सकेन । गौरव तोमरले सर्बाधिक ३९ रन बनाउँदा कप्तान ज्ञानेन्द्र मल्लले ३०, पवन सर्राफले २८ र जयकिसन कोल्सापालले १८ रन बनाए । अन्यले दोहोरो अंकको रन छुन सकेनन् । बलिङमा चितवनका करण केसीले ३ विकेट लिँदा कप्तान पारसले २ विकेट लिए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार