तस्करसंग प्रहरी

– दीर्घराज उपाध्याय।

प्रहरी प्रमुख नयाँ नियुक्त भएसंगै हरेक पटक प्रहरीले एउटा अभियान शुरु गर्छ । र त्यो अभियानले सधै एउटा नाम पाउछ । झट्ट सुन्दा पुरानै नारा जस्तो लाग्छ । तर केही नयाँ कुरा भने अवश्य हुन्छ । कहिले त्यो नारामा प्रहरी शब्द अगाडि हुन्छ । कहिले पछाडि । जस्तै, मुस्कान सहितको प्रहरी सेवा । जनतासंग प्रहरी । टोल टोलमा प्रहरी । प्रहरी मेरो साथी । र यसवर्ष नयाँ प्रहरी प्रमुख नियुक्त भएसंगै नयाँ नारा सहित प्रहरीले अभियान शुरु गरेको छ । जसको नाम दिइएको छ–समुदायसंग प्रहरी ।

प्रहरीले सधै नारा बदल्यो । तर उसको व्यबहार कहिले बदलिएन । उसको नारा जति मिठो भएपनि व्यवहार कहिले मिठो भएन । प्रहरीका हाकिमले आफ्नो मातहतका दर्जालाई गर्ने व्यवहार र प्रयोग गर्ने भाषा कहिले मिठो भएन ।

मुस्कान सहितको प्रहरी सेवा कार्यक्रमको उद्घाटनको दिन थियो । कार्यक्रममा चिल्ला र मिठा भाषण गरेर कार्यालय फर्केका एक प्रहरी अधिकृत आफ्ना मातहतका प्रहरीलाई आमाचकारी शब्द प्रयोग गरिरहेका थिए । यो पंक्तिकारको जिज्ञासा थियो, कार्यक्रममा भाषण त मिठो गर्नु भएको थियो । अनि भाषा चाहि यस्तो ?

उनको जवाफ थियो, नरम भएर व्यबहार गरे यिनले मलाई टेर्छन र ?

हाकिमले सिपाहीलाई हपार्छ । गाली गर्छ । अनि त्यही सिपाही जनतालाई गाली गर्छ । हपार्छ । हाकिमले जे सिकायो, उसले गर्ने त्यही हो । हाकिमले राम्रोसंग बोले पो उसले जनतासंग पनि राम्रोसंग बोल्छ । त्यसैले सबैभन्दा पहिले हाकिमको व्यबहार,शैली र भाषा परिवर्तन आवश्यक छ । अनि मात्र अन्य दर्जाबाट परिवर्तनको अपेक्षा गर्न सकिन्छ । मुख्य समस्या नै यही हो ।

नारा मात्र फेरिरहने कि ? व्यवहार पनि फेर्ने ? यो महत्वपूर्ण कुरा हो । व्यवहार नफेरिकन फेरिने नाराले न त कुनै नतिजा दिन्छ ? न त जनताको विश्वास र भरोसा नै जित्न सकिन्छ ।

मान्छे अहिले पनि प्रहरी कार्यालय भित्र जानु नपरोस भनेर कामना गर्छ । किनकी एउटा समस्या लिएर त्यहाँ जादा प्रहरीले अर्को दुःख दिन्छ । प्रहरी मेरो साथी अभियान शुरु गरेपनि मुस्कान सहितको प्रहरी सेवा भने पनि र समुदायसंग प्रहरी अभियान चलाएपनि प्रहरीको व्यवहार र कार्यशैलीमा परिवर्तन नआएसम्म आम जनताको यो धारणा परिवर्तन हुने छैन ।
बदमासी एउटा प्रहरी अधिकृत वा जवानले गर्छ । तर बदनाम सिंगो संगठन हुन्छ । कञ्चनपुरमा निर्मला पन्तको बलात्कार तथा हत्याको घट्नाको अनुसन्धानमा प्रहरी चुक्यो ।

जिल्लाकै प्रहरी ईञ्चार्ज उपरीक्षक र वडा प्रहरी प्रमुख निरिक्षक बर्खास्त गरिए । यसअघि उनीहरुको डिएनए समेत जाँच गरियो । झट्ट हेर्दा वा सुन्दा एउटा प्रहरी अधिकृतको डिएनए रिपोर्ट गरिए जस्तो लाग्छ । तर यो त सिंगो प्रहरी संगठनको डिएनए परिक्षण हो । प्रहरीका लागि यो भन्दा ठूलो लज्जाको विषय के हुन सक्छ ? जनताको जिउधनको सुरक्षा, पिडितलाई न्याय र पिडकलाई कारबाहीका लागि ईमान्दारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने प्रहरीमाथि जनताले सन्देह गर्नु, अविश्वास गर्नु पर्ने अवस्था आउनु न त समाजका लागि ठिक हो । न त प्रहरी संगठनका लागि । जनताको भरोसा र विश्वास फेरि प्राप्त गर्नु कैयौ वर्ष लाग्न सक्छ । र जनताको विश्वास बिनाको प्रहरीसंग हतियार भएर पनि पंगु हुन्छ ।
अझ पछिल्लो पटक सार्वजनिक भएको तस्कर र प्रहरीबीचको अडियो संवादले त प्रहरी र तस्करबीचको सम्बन्ध कस्तो रहेछ भन्ने मात्र छर्लंग भएको छैन । भन्सार छली र राजस्व चुहावट नियन्त्रणका लागि खटिएको प्रहरी, तस्करी तथा अबैध धन्दामा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउनु पर्ने प्रहरीकै मिलेमतो र संरक्षणमा कसरी तस्करी भईरहेको छ भन्ने कुरा पनि बाहिर आएको छ ।

सर्वसाधारणलाई सीमामा अनावश्यक दुःख दिने, सामान्य जनताले भारतबाट सामान ल्याउदा चार ठाँउमा खानतलासी गर्ने सुरक्षाकर्मी तस्करहरुबाट भने मासिक रुपमा पैसा लिएकै कारण उनीहरुका गाडी समेत खानतलासी नगर्ने गरेको पनि पाईएको छ । मासिक ६ देखि १० हजार रुपैया पाएकै कारण तस्करको नुन देखि सुनसम्म, जिरादेखि हात्तीसम्म आँखा चिम्लेर नेपाल भित्रिने दिने प्रहरीबाट यो देशको सुरक्षा कसरी हुन सक्छ ? तस्करहरुले भित्र्याउने अबैध सामानभित्र बम, बारुद र यो देशलाई बर्बाद गर्ने बिष्फोटक पदार्थहरु भित्र्याउदैनन भन्ने छ र ? तस्करहरुलाई जे सुकै सामान ल्याएपनि छुट दिने प्रहरी देशका लागि गद्दार हुन् । दुई चार हजार रुपैयाको लोभमा तस्करहरुलाई यो हदसम्म छुट दिने प्रहरीका अधिकृत हुन् वा अन्य दर्जाका व्यक्तिहरु, ती सबै कारबाहीका भागीदार हुन् । र हाकिमका विश्वासिला घुमुवाहरु मात्र दोषी होईनन, तीनलाई परिचालन गर्ने, प्रयोग गर्ने हाकिमहरु पनि उत्तिकै दोषी हुन् । उत्तिकै कारबाहीको भागीदार हुन् । तस्करसंगको अडियो संवाद बाहिर आएपछि प्रहरी संगठनले केही घुमुवा प्रहरी र संवादमा संलग्न प्रहरीमाथि कारबाहीको प्रकृया अगाडि बढाएको छ । यद्दपि केही घुमुवा प्रहरीलाई कारबाही गरेर प्रहरी संगठनमाथि लागेको दाग मेटिदैन । त्यसका लागि ती घुमुवा प्रहरी, तस्करसंग सेटिङ मिलाउने हाकिमका ती विश्वासपात्र प्रहरीसंगै तिनलाई केही पैसाका लागि सिंगो प्रहरी संगठनलाई बेच्ने हाकिमहरुमाथि कारबाही गरिनुपर्छ । हिम्मत छ भने संगठनभित्रका त्यस्ता भ्रष्ट हाकिमहरुलाई कारबाही गर्ने आट गरोस, प्रहरी संगठनले ।

घुमुवा जन्माउने प्रहरीका हाकिम हुन् । हाकिमलाई जोगाएर घुमुवामाथि कारबाही गरेर बहादुरी नदेखाउन प्रहरीका नयाँ हाकिमहरु ।

होईन भने, कारबाहीको नाटक बन्द गरेर प्रहरीले नयाँ अभियान शुरु गर्नुपर्छ, तस्करसंग प्रहरी । पछिल्लो पटक सार्वजनिक भएको अडियो संवादले त यही कुराको पुष्टि गरेको छ । जनतासंगै सधै झर्किएर व्यबहार गरिरहने नारा दिने–मुस्कान सहितको प्रहरी सेवा । जनताले अप्ठ्यारो पर्दा हार गुहार गर्दा कहिले साथ नदिने, तर नारा दिने–प्रहरी मेरा साथी ।

अनि समुदायलाई शान्ति सुरक्षा दिनेभन्दा पनि तस्कर आउने नाकामा बसेर उनीहरुलाई तस्करी गर्न सहयोग र संरक्षण गरिरहने, नारा चाहि दिने–समुदायसंग प्रहरी । प्रहरीको आचरण, व्यवहार नसुध्रिने हो भने,उसका लागि सबैभन्दा उपयुक्त नारा यही हुनेछ–तस्करसंग प्रहरी । आगे प्रहरीको मर्जी ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार