
चिकित्सकले बिरामी जाँच गर्न अब लाइसेन्सले मात्रै प्रयाप्त नहुने भएको छ । उनीहरुले अब लाइसेन्स संगै सीपीडी ( कन्टिन्युअस प्रोफेसनल डेभलपमेन्ट) तालिम अनिवार्य रुपमा लिएको हुनुपर्ने छ ।
नेपाल मेडिकल काउन्सिलले अबको करीव तीन महिना भित्र सीपीडी कार्यक्रम शुरु गर्दैछ । त्यसका लागि काउन्सिलले अहिले पाठ्यक्रम तयार गरि प्रशिक्षक प्रशिक्षणको कार्यक्रम शुरु गर्न थालेको छ ।
काउन्सिल अध्यक्ष प्राडा धर्मकान्त बास्कोटाले अबको तीन महिना भित्र सीपीडी कार्यक्रम शुरु गर्ने बताए । त्यसको अन्तिम तयारी अहिले आफूहरुले गरिरहेको जानकारी दिए । ‘यो कार्यक्रम लागू गर्न आवश्यक तयारी करीब करीब पुरा भएको छ । अब छिटै लागू हुन्छ । दुई तीन महिना भित्र यो शुरु भएको तपाईँले थाह पाउनु हुनेछ,’ प्राडा बास्कोटाले भने ।
काउन्सिलले कुल १०० अंकको सीपीडीमा चिकित्सकहरुले ३० अंकको एउटै ‘मोडुल’को तालिम अनिवार्य लिनुपर्ने र बाँकी ७० अंकमा विभिन्न किसिमका गतिविधि र कार्यक्रममा सहभागिता जनाएर प्राप्त गर्ने बताएको छ ।
सीपीडी कोर्ष डिजाइन गर्ने टोलीका एक जना सदस्य प्राडा सुदीप आचार्यका अनुसार चिकित्सकले अनिवार्य लिनुपर्ने तालिममा बेसीक लाइफ सर्पोटको तालिम, मेडिकल इथिक्स एण्ड कम्युनिकेशन स्कील, इन्फेक्सन प्रिभेन्सन एण्ड कन्ट्रोल, ¥यासनल युज अफ ड्रग एण्ड डायग्नोस्टिक, मेडिकल इमरजेन्सी इन डेन्टल प्राक्टिस लगायतका विषयहरु समेटिएका छन् ।
‘एउटा चिकित्सकले इमरजेन्सी अवस्थामा वेसीक लाइफ सपोर्ट कसरी गर्ने ? मेडिकल पर्सनलको इथिक्स के हुने , कम्युनिकेशन कसरी गर्ने ? इन्फेक्सन कसरी नियन्त्रणमा ल्याउने, औषधि र परीक्षणका बारेमा कसरी निर्णय लिने ? डेन्टल तर्फ उपचारका लागि आएको विरामीलाई अर्को रोगले समात्यो भने तत्काल के गर्ने ? आदि कुराहरुलाई समेटेर डिजाइन तयार भएको छ । त्यसमा तालिम लिनुपर्छ,’ प्राडा आचार्यले भने ।
उनका अनुसार एउटा चिकित्सकले पाँच बर्ष भित्र १०० नम्बर ल्याउन पर्छ । त्यसका लागि सम्मेलन, आर्टिकल, रिसर्च लगायतका गतिविधिमा सहभागी भएको नम्बर समेत जोडिनेछ ।
‘मुख्य त यसको उदेश्य चिकित्सकहरु अपडेट भै राखुन । जनताले गुणस्तरीय सेवा पाइराखुन भन्ने नै । अहिले एक पटक लाइसेन्स लिएपछि अरु अनिवार्य रुपमा केही गर्नु पर्दैन । तर सीपीडी भने पाँच पाँच बर्षमा दोहोरिन्छ,’ प्राडा आचार्यले भने ।
सीपीडीको पाठ्यक्रम विकास गर्न काउन्सिलका तर्फबाट प्राडा आचार्यसंगै डा अंकुर साह समेत सदस्य छन् । काउन्सिल बाहिरबाट विज्ञका रुपमा प्राडा रमेशकान्त अधिकारी, प्राडा शशि शर्मा र डा सुशील कोइरालासमेत सहभागी छन् ।
















