पाकिस्तानस्थित चिनियाँ दूतावासमा आक्रमण, तीनजनाको मृत्यु

कराँची : पाकिस्तानको कराँची सहरस्थित क्लिफ्टन इलाकामा रहको चिनियाँ राजदूतावासमा शुक्रबार बिहान आतंककारी हमला भएको छ । कारमा चढेर आएका आक्रमणकारीले दूतावास परिसरमा गोली बर्साएका हुन् । गोली लागेर सुरक्षामा तैनाथ रहेका दुई सुरक्षाकर्मीको घटनास्थलमै मृत्यु भएको छ ।

आतंककारीहरु कारसहित दूतावास परिसरमा पस्ने कोशिश गरेका थिए । तर सुरक्षाकर्मीले उनीहरुलाई रोकेका थिए । त्यसपछि भएको भिडन्तका क्रममा एक आक्रमणकारी मारिएका छन् ।


चिनियाँ दूतावासमा आक्रमणपछि तैनाथ सैनिक टोली । तस्बिर : एजेन्सी
डन न्यूजका अनुसार दूतावास नजिकै बिहान साढे ९ बजे गोली चलेको थियो । अतिरिक्त पुलिस महानिरीक्षक डा. अमिर अहमद शेखले अहिले गोलाबारी रोकिएको बताउँदै पुलिस र रेन्जर्सले त्यस इलाकामा सर्च अप्रेशन चलाइरहेको बताए ।

घटनास्थलमा रहेका सुरक्षा अधिकारी इकराम सहगलका अनुसार दूतावास सुरक्षामा तैनाथ सुरक्षाकर्मीमाथि आक्रमणकारीले कार भित्रैबाट गोली चलाएका थिए ।

गोली बर्साएपछि घटनास्थलमै दुई सुरक्षाकर्मी ढलेका थिए । त्यसपछि आक्रमणकारी कन्सुलेटको गेटतर्फ अघि बढेका थिए । तर तत्कालै दूतावासको मुलगेट बन्द गरिएकाले आक्रमणकारी भित्र छिर्न सकेनन् । मुलगेट समयमा बन्द गर्न सकिएकाले त्यहाँ धेरैजनाको ज्यान जोगिएको बताइएको छ ।

आक्रमणपछि दूतावास भित्र रहेका कर्मचारी र सर्वासधरणलाई तत्काल सुरक्षित स्थानमा लगिएको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार