जापानबाट प्रधानमन्त्रीलाई खुला पत्रः निर्मलाहरुका लाशमाथि रेल नकुदाउनुहोस!

सम्माननीय प्रधानमन्त्री ज्यू
प्रधानमन्त्रि भन्दा पनि चार करोड नेपाली जनताको पिता भनेर सम्बोधन गर्न चाहन्छु्!

सर्बप्रथम, हजुर लगायत देश बिकाश एबम सारा नेपाली जनताको हित अनि उन्नति र प्रगतिको लागि कटिबद्ध भै हातेमालो गरिरहनु भएका सम्पूर्ण मन्त्रि मण्डल तथा नेता वर्गमा बिदेशिएका लाखौँ नेपाली दाजु भाई दिदि बैनीको तर्फबाट सादार नमस्कार सम्प्रेसण गर्न चाहन्छु ।
प्रधानमन्त्री ज्यू सात समुन्द्र पारीको देशबाट मर्माहित बनेर, विछिप्त भएर, गला अबरुद्ध भएर, मन भित्र गाठो परेर अवाक भएपछि, बाध्य भएर सम्पूर्ण मर्माहित नेपालीको प्रतिनिधित्व गर्दै आज यो पत्र लेख्ने जमर्को गर्दैछु !

यसमा लेखिएका शब्दहरु केवल शब्द मात्र नभई, वर्तमान परिवेशमा भोगिएका तितो यथार्थको शब्द चित्र हो आशा छ त्यो अवश्य महसुश गर्नुहुनेछ !

अब आजको यस पत्रको मूल विषय वस्तुतर्फ उन्मुख हुने अनुमति चाहन्छु । हिजो निर्मला पन्तको पिताले मानसिक सन्तुलन गुमाएको भिडियो हेरे। अत्यन्तै मर्माहित बनायो आँखा रसायो अनि नेपाली हुँ भन्न आफैसँग लाज लागेर आयो। अनि महसुस एक नेपाली हुनुको लज्जास्पदता, शक्तिसँगको कायरता, सरकारको लाचारता, कानुन अन्धो हुन्छ भन्ने कुराको यथार्थता, स्पस्ट रुपमा।

म पनि दश वर्षकी छोरीको एक पिता हुँ, स्तब्ध छु त्यो भिडियो हेरेर। ‘मर्नुभन्दा बहुलाउन निको’ भनेझैं , नत यतिकै आत्महत्या गरि मरु भने पनि आत्माले मान्दैन, बाचौं भने पनि दिमागले थेग्न सक्दैन! थेगोस पनि कसरि ? यत्रो चार चार महिनासम्म दिनरात एउटै कुराले अड्डा जमाएपछि मानसिक सन्तुलन गुम्नु स्वाभाविक नै त हो नि हैन र?

छोराको हत्यारालाई पक्रेर कारवाही गरिदेउ भन्दाभन्दै नन्दप्रसादले प्राण त्यागे, मेरी छोरीलाई न्याय दिलाइदेउ भन्दै गर्दा निर्मलाका बाबुले मानसिक सन्तुलन गुमाए । गोरखाको कृष्ण प्रसाद अधिकारिको परिवारको हालत र कञ्चनपुरको निर्मला परिवार को हालत उस्तै हो त? न्याय खोज्दा खोज्दै परिवार नै सखाप?

‘न्याय नपाए गोर्खा जानु’ के यो उखान लागु हुन्छ त? हामी नेपालीको पहिचान यहि हो त? त्यो इतिहासको यथार्थताबाट चल्तिमा आएको उखान के भोलिको हाम्रा केटाकेटीले आत्मासात गर्न सक्छन?

प्रधानमन्त्री ज्यू हर नेपालीको सुःख दुःखलाई आत्मसात गरि, बलियो निर्धो नभनी, सत्य तथ्य, दुधको दुध पानिको पानि गरि, अन्यायमा परेकोलाई न्याय दिनु दोषिलाई कानुनको दायरामा ल्याउनु के हजुरको कर्तब्य हैन र?

आफ्नै पिताको सरह स्थान दिएर तपाइलाई सोध्न चाहन्छु के आफ्नै छोरीलाई न्याय दिन सक्नुहुन्न? या चाहनुहुन्न? हामीले आफ्नै पिता सरह हजुरप्रति जुन आशा र विश्वास गरेका छौ, त्यसको भरोसा दिलाउनु अनि आफ्नो सन्तानको दुःखलाई गला लगाउनु के पिता को कर्तब्य हैन ? पिताश्री ,पानिजहाज र रेलको कुरालाई थाती राखी केवल एक पल्ट एक पिताको नाताले, एक आमनागरिकको नाताले त्यो दुखलाई दिल भित्रबाट महसुश गरेर हेर्नुस त, मर्नु परे मर्छु तर सत्यको साथ दिएर, न्याय दिलाएर मर्छु, इतिहास रचेर मर्छु भन्ने कहिँ कतै अनुभूति हुदैन?
के नै पो मागेका छौ र, न्याय माग्न पाउनु हाम्रो अधिकार अनि न्याय दिलाउने हजुरको कर्तब्य हैन? कैयौ निर्मलाको लाशमा रेल कुदाउनु अनि कैयौ मर्माहित आमाबुबाको आँसुको दहमा पानीजहाज चलाउनु के यसलाई नै आफ्नो सफलता मान्नुहुन्छ?

प्रधानमन्त्री ज्यू उमेरले साढे छ दशक त नाघी सक्नु भएकोछ। अबका १५,२० वर्षमा हजुरको पनि त पालो आउनेछ ढिलो चाँडो मृत्युवरण गर्ने। त्यसैले कमसेकम एक कदम बढेर सोच्नुहोस, इतिहास रचेर सबैको सराहनीय भएर त्यो दुखि परिवारको आँशु त पुछ्नुहोस नकि स्वर्गमा निर्मलाले हजुरलाई धन्यवाद पिता भनेर अंकमाल गर्न सकुन अनि त्यो बेला के तपाइको छाती आत्मविभोर भएर चौडा हुदैन?

के पी ओलीको उदाहरण बच्चा बच्चाले दिन सकुन। प्रधानमन्त्री ज्यू यो नै सुवर्ण अबसर हैन र हजुरको रेलमार्ग र पानीजहाज को सपना साकार पार्ने पहिलो खुड्किलो? पन्त परिवारलाई परिवारलाई न्याय दिनुहोस! हर दुखेको मनमा मलम लगाउनुहोस अनि हेर्नुहोस, भविश्यमा हर निर्मलाको परिवारले हजुरलाई विश्वासका साथ जिताउने छन् राष्ट्रपिता स्वरुप, के यो जित हजुरको जीवनको एक उत्कृष्ट जित हैन?

अन्त्यमा प्रधानमन्त्री ज्यू हामी जस्तो लाखौं निर्मलाको पिताहरुको मनको व्यथा बुझ्नु हुनेछ, न्याय दिनु हुनेछ र ति चार महिनादेखि रोइरहेका आखाको आँसुपुछी, मुहारमा मुस्कान छर्नुहुनेछ र त्यसको नतिजा म जस्तो लाखौं छोरीको पिताले पिता हुनुमा हिनताबोध हुनुपर्ने छैन।

अनि न्याय नपाए गोर्खा जानु भन्ने उखान सार्थक हुनेछ। हर महिना रेमिट्यान्सको भेट चढाउने हामी जस्ता युवाहरुले नेपाली हुनुमा गर्व गर्नेछौ, खुशीले छाती चौडा हुनेछ। नत्र हजुरले कुदाउने पनिजहाज र रेलमा ति नरपिचास मात्र चढ्नेछन् त हर निर्मला पासो लगाउने छन् अनि हर पिता सडक छेउ पागल हुनेछन, नेपाल पागलाहरुको कारखाना हुनेछन अनि हजुर त्यसको मालिक कहलाउनु हुनेछ।

आशा छ मनन चिन्तन गरि उचित कदम चल्नु हुनेछ !

धन्यवाद
अमरदेब बास्तोला
हाल जापान

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार