– फुर्बान रायमाझी
युरोप छिरेपछी हामी नेपालीको पहिलो रोजाईको देश पोर्चुगल।पोर्चुगल रोज्नैपर्ने मुख्य कारण कागजी प्रक्रिया हो।यहाँ सजिलै कागज बन्छ।सजिलै बस्न सकिन्छ।कागजी प्रक्रियामा अन्तभन्दा सजिलो छ।भिसा सकिएपछी च्याप्पै समातेर नेपाल पठाउँछ कि भन्ने डर छैन मनमा।कागजी प्रक्रियाका लागि लाखौं सकिएला भन्नेपनी छैन।कागज बन्दैन कि भन्नेपनी छैन।महिनौं काम नपाएर खानै नपाएर अलपत्र परिन्छ भन्नुपनी छैन पोर्चुगलमा।
ठ्याक्कै नेपालको पहाडी हावापानी।घामले उत्तिकै पोल्छ,हावाले उस्तै स्पर्श गर्छ नेपालमा जस्तै।नेपालको झल्को मेट्ने चोक,दोकान र पार्कहरु।कतै बाटोतिर हिड्दा ठोक्किरहने नेपालीहरु मुस्कुराउँदा अझै आत्मीय लाग्ने,कतै चोकमा आँखा जुधेंर लजाउँदा चिनेजस्तो,पहिल्यै कतै भेटेजस्तो लाग्ने,कतै दोकानमा छिर्दा देशकै झल्को मेट्ने र कोहि मुस्कुराएर चिनेजस्तै गरि नमस्ते भन्दै बाटो काट्दा आफ्नै जस्तो लाग्ने बिनासम्बन्धका मान्छेहरु यताउता गरिरहन्छन।नमस्ते फर्काउन चिन्नुपर्दैन यहाँ,नमस्ते भन्नपनी सम्बन्ध चाहिन्न।नेपाली जस्तो देखिनुपर्छ,नेपालीपन देखाउनुपर्छ तब हामीलाई हामी प्यारो लाग्छ।जहाँ जो भेटिए पनि हामीले हामीलाई हेर्ने आँखाका भावहरु आत्मीय लाग्छन्।आँखाका नानीहरुमा नेपालको तस्बीर देखिन्छ।निधारका धर्साहरुमा नेपालको नक्सा कोरिएको हुन्छ तसर्थ सँगै बस्नेहरु परिवारजस्तै प्यारा लाग्छन।एउटै भान्सामा पुर्व र पश्चिमको खान्की पाक्छ,एउटै टेबुलमा दशैं र छठ पाक्छ।एउटै कोठामा साकेला र तीजका गीतहरुमा नाँच चल्छ।उस्तै उद्देश्यहरुमा घर चल्छन,मनहरु चल्छन।एउटै घरले सिङ्गो देश बोल्छ।एउटै फ्ल्याटमा सिङ्गो देशको प्रतिनिधित्व गर्ने मान्छेहरु मिलेर बस्छन।चार जात र छत्तीस बर्ण अटाउँछन एउटै घरभित्र पोर्चुगलमा।

चिया पसलहरुका भीडहरुमा मिसिएर गफहरुमा राजनीति घुसाएर सिङ्गो देश बोल्ने आवाजहरुको बहस सुन्दा आनन्द लाग्छ तर नचाहेरै सुन्नैपर्दा दिक्क लाग्छ।उस्तै बहसका बिषयहरु यताका मिसिन्छन।उताका कुरा,यताका कुरा,उताको राजनीति,यताको राजनिती लथालिङ्ग,भताभुङ्ग।पक्ष र बिपक्ष।।गफ गर्नेहरुका खुराक चित्त बुझ्छन कतै,बुझ्दैनन कतै।चर्चा र चर्चित,ब्यक्ती र प्रवृत्ति थपिन्छन,सकिन्छन लगातार।
गफहरुमा कहिले झुक्किन्छु म,चोकहरुमा,गल्लीहरुमा र सडकका पेटीहरुमा पनि झुक्किन्छु। कता छु कता? उतै ठमेलतिर कि गंगबुतिर या रत्नपार्कतिर! कोहि बोलाउँदैछ उस्तै बहानामा। कोहि केही पर्खिरहेछ उस्तै गरि र कोहि केही बार्गेनिङ गर्छ उस्तै जोडघटाउहरुमा। मोल नमिलेर छाडिएका खसीजस्तै मान्छेहरु देख्दा मलाई रत्नपार्कको झल्को मेटिन्छ।रत्नपार्क,ठमेल र गंगबुहरु सिङ्गो देश बोल्छन मनहरुमा। बेरोजगारी र बिकृती बोल्छन। संघर्ष र समस्याहरु पनि बोल्छन आँखाहरुमा। त्यही भीडहरुमा झल्को मेट्ने र जोवन साट्नेहरुको कथा लेखिसाध्यै छैन पोर्चुगलमा।
घरदेशका यादहरु सम्हाल्न थुप्रै बहानाहरु छन पोर्चुगलमा सायद अन्त छैनन्।थुप्रै कथाहरु छन संघर्षका,थुप्रै शुत्रहरु छन सफलताका,थुप्रै दु:खहरु छन भोग्नेहरुका र थुप्रै खुशीहरु पनि छन प्राप्तीहरुका पोर्चुगलमा सायद अन्त छैनन्। हामी यस्तै बहानाहरुलाई जिन्दगी मान्छौं,यस्तै समयलाई आशाको पहाडले थिचेर दु:ख र कठिनाईहरु लुकाएरै समाधान गर्छौ। हामी यहाँ सिङ्गो जिन्दगी देख्छौं,भोग्छौ र भोगिरहन्छौ। जिन्दगी देख्न र भोग्न सिकाएको समयले दुख दिन्छ,सुख पनि दिन्छ र थपिरहन्छ आशाहरु। आशाहरु थपिदा बाँच्ने रहर मर्दैन कहिल्यै,हाँस्ने जाँगर हट्दैन कहिल्यै। बाँच्ने रहर गर्नेहरु जिन्दगीमा मुस्कुराईरहन्छन र हामी त्यसरी नै मुस्कुराउँछौ पोर्चुगलमा।
आँखामा केही रहरहरु छन,सपनाहरु पनि छन। हतारमा यताउता नहेरी कुद्नेहरुलाई समय प्यारो छ,रहरहरु प्यारा छन,सपनाहरु प्रिय छन। जिन्दगीमा त्यही ब्यस्तताले सपनाहरु पूरा होलान,रहरहरु मेटिदै थपिएलान्। थपिएका रहरहरुले जाँगर आउँला कुदिरहन। झल्को मेट्ने र जोबन साट्नेहरुको कथाभन्दा धेरै कथाहरु ब्यस्तता,संघर्ष र सफलताका छन पोर्चुगलमा नेपालीहरुका। हामी यिनै कथाहरुलाई दैनिकी मान्छौ,जिन्दगी मान्छौ र प्रेरणा मान्छौ।
कामलाई दु:खमात्रै ठान्ने बानी पर्दैन हामीलाई। दैनिकी चल्दै गर्दा काम पूजाजस्तै लाग्छ।काम मनको पीडा होइन,जो बल्झिरहन्छ।मुटुको चोट होइन जो हर सेकेण्ड धड्किदा सम्झनामा बल्झिएर सताईरहन्छ।अभाव र समस्या होइन जसले छट्पटी गराईरहन्छ।काम पश्चाताप होइन जसले बेचैन गराउँछ।काम खुशी हो जसले केही दिदैछ। काम बिश्वास हो,जसले दैनिकी गुजारा चल्दैछ।काम रहर हो जसले सपनाहरु पूरा गर्दै थपिरहन्छ।तसर्थ कहिल्यै बल्झिन्नन कामका कठिनाईहरु जिन्दगीमा।कहिल्यै खोसिन्नन मीठा सपनाहरु कामका थकानहरुले बरु थपिरहन्छ।पसीनाका गन्धहरु मीठो लाग्छन परिश्रमीहरुलाई र पो हामी उधुम गर्छौ,धुमधाम गर्छौ,काम त्यसरी गर्छौ अनि पो आनन्दले निदाउँछौ पोर्चुगलमा।
पोर्चुगलमा हजारौं नेपालीहरुले दैनिकी हिसाब किताब गर्छौ। उमेर र बैंश सकिदै बितेका बर्षहरु औंलामा गन्छौ। मेहेनत र परिश्रमले बगाएका पसीनाहरुको लेखाजोखा राख्छौ। यो देशले उसरी नै हाम्रो गणित निकाल्छ,हिसाब जोड्छ। हामी पोर्चुगलको कमाईको गणितीय अंकहरुमा सुरक्षित भबिष्यको आधार भेट्छौ,आशाहरु थप्छौ। ढुक्कसँग शान्ती र बिश्वासको श्वास फेर्छौ। आफुले तिरेको कर हिसाब गरेर सरकारी सुरक्षा र सुबिधामा प्रयोग हुने बिश्वासको श्वास फेर्न सक्छौ पोर्चुगलमा।
कहिलेकाही खुब तर्साउछ्न मान्छेहरु।बेरोजगारीहरु कामको दु:खसँग भाग्छन। दु:ख देखाएर तर्साउछन र आफू बेरोजगार भएरै दुख थप्छन आफ्नो जिन्दगीलाई।बेरोजगार हुनुको पीडा लुकाएर कामको कठिनाईलाई महत्व दिन्छन कति मान्छेहरु,खुब हल्ला गर्छन र कामको कठिनाईबाट भाग्दा जिन्दगीका कठिनाईहरु थपिएको बुझ्दैनन र झन कठिन जिन्दगी बाँच्छन मान्छेहरु।हामी हाम्रो अभाव र समस्यालाई संघर्ष र मेहेनतसँग तालमेल मिलाउन सक्दैनौ र पनि हल्ला गर्छौ।सबथोक मिल्दामिल्दै जिन्दगीको तालमेल मिलाउन नजानेर हामी यसरी हल्ला गर्दा हल्लामा हल्ला थप्दै पोर्चुगलबाहिरको ठूलो भीड खनिन्छ हामीमाथी।
पोर्चुगल खत्तम छ भन्दै अनाबश्यक सहानुभूति र ब्यङ्ग गर्नेहरुलाई देख्दा म हाँसो थाम्दिन्।मान्छेहरु मलाई बिचरा भन्न तम्सिदा म लाज मान्दिन।
मलाई हामी नेपालीहरुका लागी पोर्चुगलभन्दा अर्को उत्कृष्ट गन्तव्य थाहा छैन,यहाँभन्दा उपयुक्त देश भेटेकै छैन।
( लेखक फुर्बान रायमाझी भोइस अफ नेपालका नियमित स्तम्भकार हुन्। )
















