सिड्नी, अस्ट्रेलिया।
गत शनिबार अस्ट्रेलियाको सिड्नीमा आयोजित ‘नेपाल फेस्टिवल’ कार्यक्रम निकै बिबादित बनेको छ । कार्यक्रममा आयोजक गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई यहाँका नेपाली समुदाय नै विभाजित गरेको भन्दै विभिन्न आरोपसमेत लागेको छ ।
कार्यक्रममा एकजना कलाकारले ‘हट्ने होइन, डट्ने नेपालीको बानी हुन्छ, विश्वको कुनाकाप्चा हेर त्यहाँ राजारानी हुन्छ’ भन्ने गीत गाएको विषयसमेत विवादित भएको छ । पञ्चायतको अन्त्यतिर चर्चित रहेको स्वदेशगान प्रस्तुत भएपछि अस्ट्रेलियाको नेपाली समुदाय नै विभाजित भएको हो ।
त्यस्तै कार्यक्रमस्थलमा लण्डन नेपाल न्युजका अस्ट्रेलियास्थित प्रतिनिधी तक्दिर अधिकारीलाई भिडियो खिच्न नपाउने भन्दै जना एनआरएन पदाधिकारीले दुर्व्यवहार गरेको खबर बाहिरिएपछि एन आर एन झनै आलोचित बनेको थियो।

यसपटकको नेपाल फेस्टिवलमा अष्ट्रेलियाका सबै समाजिक संघसंस्थाले मिलेर सहकार्य गरेका थिए । तर, केही कमजोरीका कारण आयोजकलाई नेपाली समाज विभाजित गरेको अरोप लागेको छ ।
कार्यक्रमको औपचारिक समारोह नै पञ्चायती शैलीको भएको आलोचना एनआरएले व्यहोरेको छ । मूलप्रवाहका सञ्चार माध्यमलाई प्रवेश पासको व्यवस्था पनि नहुनु दुःखद भएको पत्रकारहरुले बताएका छन् ।
फेस्टिवलमा सहभागी भएका एनआरएनको केन्द्रीय कार्यसमितका सदस्य तथा ओसियन रिजनका संयोजक धर्मराज अधिकारीलाई सम्बोधनको अवसर नदिइएको र नेपालबाट परराष्ट्रमनत्री वा पर्यटन मन्त्री वामपन्थी भएकैले सहभागी गराउन पहल नगरेको आरोप पनि लगाइएको छ ।
यता, आयोजकले केही कमजोरीहरु भएको स्वीकार गर्दै क्षमतायाचना गरेका छन् ।

मंगलबार एनअारएनए अस्ट्रेलियाका उपाध्यक्ष तथा फेस्टिवलका संयोजक नन्द गुरुङले वक्तव्य प्रकाशित गरी एक कलाकारले नेपालको संविधान र लोकतन्त्रविरुद्ध हुने गीत प्रस्तुत गरेकोमा दुःख व्यक्त गरेका हुन् ।
तर आर्कातिर संचारकर्मीमाथि भएको दुर्ब्यवहार बारे एन आर एन ए अस्ट्रेलियाले केही पनि बोलेको छैन।
फेस्टिवलमा नेपाली खाना, भेषभुसा तथा नेपाल चिनाउने’नेपाल घर’ को निकै प्रशंसा भएको थियो । नेपाल घर स्वयम्भूको आकारमा बनेको थियो र घरभित्र डोको नाङलोदेखि ढिकीजाातोसम्मको नेपाली ग्रामीण जीवन झल्काउने वस्तुहरु राखिएका थिए ।
अस्ट्रेलियाका अध्यागमन मन्त्री डेभिड कोल्मनसहित उच्च नेताहरु तथा अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाको पनि उपस्थित रहेको थियो ।
शनिबार मेल्बर्न-सिड्नीको आन्तरिक हवाइ सेवामा समस्या आएपछि एनआरएनका पूर्वअध्यक्ष शेष घले र जमुना घले फेस्टिवलमा भाग लिन पहिलो पटक स्थलमार्गबाटै दिउँसो सिड्नी आइपुगेका थिए ।
यो पनि पढ्नुहोस्।
















