काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका मिडफिल्डर रोहित चन्द इन्डोनेसिया लिगको सर्वोत्कृष्ट खेलाडी भएका छन् । उनी आवद्ध टोली पर्सिजा जकार्ताले आइतबार लिग वनको उपाधि जितेसँगै रोहित लिगको सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् ।
लिग अन्तिम चरणमा पुग्दै गर्दा गत साता रोहित इन्डोनेसिया लिगको उत्कृष्ट खेलाडीको अन्तिम सूचीमा परेका थिए । लिगको प्राविधिक अध्ययन समितिको मनोनयन सूचीमा पर्सिजा जाकार्ताका मिडफिल्डर रोहितसँगै अरू दुई खेलाडी परेका थिए ।
रोहितले मिडफिल्डमा उत्कृष्ट प्रदर्शन गरेपछि पर्सिजाले यो सिजनको लिग उपाधि पनि उचाल्यो । अन्तिम तथा जित्नै पर्ने खेलमा मिट्रा कुकारलाई २-१ ले हराउँदै पर्सिजाले लिग उपाधि हात पारेको हो ।
पर्सिजालार्इ उपाधि दिलाउने क्रममा लिगका ३१ खेलमा मैदान उत्रेका रोहितले तीन गोल गरेका थिए । अन्य दुर्इ गोलका लागि उनले अवसर दिलाएका थिए ।
मिडफिल्डरको भूमिकामा खरो उत्रिएका रोहितले अग्रपंक्तिलाई पास उपलब्ध गराएर प्ले मेकरको काम गरे । उनले विपक्षीबाट बल खोस्ने मुख्य जिम्मेवारी पनि गरेका थिए ।
सर्वोत्कृष्ट बनेका रोहितसँगै मनोनयनमा पर्सबायाका ब्राजिलियन स्ट्राइकर डेभिड डे सिल्भा र पीएसएम मकासरका डच मिडफिल्डर भिलेम जान प्लाम थिए ।
समितिले लिगका क्रममा निरन्तर राम्रो प्रदर्शन गर्ने खेलाडीलाई मनोनयनमा राखिएको जनाएको थियो । समितिको नजरमा सबै कोणबाट रोहित अब्बल सावित हुँदै सर्वोत्कृष्ट खेलाडी बनेका हुन् ।
















