– सम्झना अधिकारी / गणेश पाण्डेय ,
लिस्बन , पोर्तुगल।
पोर्तुगलमा बसाई सराई गर्ने वा बसोवास गर्ने हरेक व्यक्तिले आफ्नो कागजातहरु ठिक र कानुन संगत तरिकाले व्यवस्थित गर्नुपर्दछ, ताकि पोर्तुगलको सरकारले प्रदान गर्ने सम्पूर्ण सेवा र सुविधाहरु सहजै प्राप्त गर्न सकियोस्। पोर्तुगल बसाईको एउटा महत्वपूर्ण पाटो पोर्तुगलमा सामाजिक सुरक्षा नम्बर ( Social Security Number ) हो , जो बिशेष गरी यहाँ काम गर्ने हरेक व्यक्तिका लागि अति नै आवश्यक र महत्वपुर्ण छ।

सामाजिक सुरक्षा नम्बर ( Social Security Number ) के हो ?
पोर्तुगलमा बसोवास गर्ने हरेक व्यक्तिको सामाजिक सुरक्षाको पहिचानको लागि यहाको सरकारले प्रदान गर्ने एक बिशेष नम्बर हो , जुन हरेक व्यक्तिको जीवनकालभर उही रहन्छ।
सामाजिक सुरक्षा नम्बर ( Social Security Number ) के का लागि ?
सामाजिक सुरक्षा नम्बर ( Social Security Number ) कुनै पनि व्यक्तिले आफ्नो नामबाट सामाजिक सुरक्षाका लागि राष्ट्रको ढुकुटीमा जम्मा गर्न प्रयोग गरिन्छ। पोर्तुगलमा ज्याला वा तलबमा ( आर्थिक लेनदेनमा ) काम गर्ने हरेक व्यक्तिले आफ्नो कमाई वा तलबको ११ प्रतिशत सामाजिक सुरक्षामा जम्मा गर्नुपर्ने अनिवार्य नियम छ। यसैले नै कुन व्यक्तिले सामाजिक सुरक्षाका लागि कति देन दिएको छ भन्ने प्रष्ट बुझिन्छ।
सामाजिक सुरक्षा ( Social Security ) मा प्रत्येक व्यक्तिको लगानी कति ?
अरुका लागि काम गर्नेहरुका लागि सामाजिक सुरक्षा ( Social Security ) मा आफ्नो कमाई वा तलबको ११ प्रतिशत जम्मा गर्नुपर्ने हुन्छ , जुन रोजगारदाताले स्वतः तलबबाट काटेर कामदारलाई पारिश्रमिक भुक्तानी गर्दछन। सामान्यतया सामाजिक सुरक्षा ( Social Security ) मा यसरी नै हरेक कामदारले यसरी नै लगानी गर्दछन तर यदी रोजगारदाताले सामाजिक सुरक्षा काटेको छैन भने , कामदारले आफै के भएको छ भनेर खोजी गर्नुपर्दछ।
सामाजिक सुरक्षा ( Social Security ) नम्बर कसरी प्राप्त गर्ने ?
कामदारहरुको हकमा हरेक रोजगारदाताले आफ्ना कामदारको लागि सामाजिक सुरक्षा ( Social Security ) नम्बरका लागि आबेदन दिनुपर्ने हुन्छ। कामदारले सामाजिक सुरक्षा ( Social Security ) नम्बर पाउनु अधिकार हो भने रोजगारदाताले आफ्ना कामदारको लागि सामाजिक सुरक्षा ( Social Security ) नम्बर आबेदन गरिदिनु दायित्व हो। सामाजिक सुरक्षा ( Social Security ) नम्बर आबेदनका लागि कत्ति पनि शुल्क लाग्दैन , यदी कुनै पनि रोजगारदाताले सामाजिक सुरक्षा ( Social Security ) का लागि कामदारसँग पैसा माग्दछ भने त्यो सरासर ठगी हो। यस्तो अवस्थामा आफ्नो कामको करार पत्र ( Job Contract ) का साथमा सामाजिक सुरक्षा ( Social Security ) निकायमा रोजगारदाता बिरुद्ध उजुरी गर्न सकिन्छ।
जब कुनै पनि कम्पनीले कामदारलाई रोजगारी दिन्छ, त्यस अवस्थामा कम्पनीले नै सामाजिक सुरक्षा ( Social Security ) निकायसँग सन्चार गरेर आफ्ना कामदारको सामाजिक सुरक्षा ( Social Security ) नम्बरको लागि आफैले आबेदन दिनुपर्ने र आवश्यक पहल गर्नुपर्ने हुन्छ।
तर, स्वरोजगार ( Self Employed ) को हकमा भने , सम्बन्धित कर अधिकृत ( लेखापाल ) वा कर कार्यालयले सामाजिक सुरक्षा ( Social Security ) निकायमा सम्पर्क गरेर स्वरोजगारको आर्थिक गतिबिधिअरुको बारेमा जानकारी गराई र आवश्यक कागजात बुझाएर सामाजिक सुरक्षा ( Social Security ) नम्बरको लागि आबेदन दिई प्राप्त गर्न सकिन्छ ।
सामाजिक सुरक्षा ( Social Security ) नम्बर प्राप्त गर्न चाहिने आवश्यक कागजपत्र के के हुन् ?
१. मिति भएको पासपोर्ट
२. वित्तीय पहिचान नम्बर NIF ( Fiscal Identification Number )
३. रोजगार करार पत्र ( Job Contract ) , जसमा रोजगारदाताको हस्ताक्षर अनिवार्य हुनुपर्ने।
४. रोजगारदाताको परिचयपत्र
५. सामाजिक सुरक्षा ( Social Security ) आबेदन पत्र ( भरिएको हुनुपर्ने )
सामाजिक सुरक्षा ( Social Security ) मा किन दाखिल हुने ? के के हुन्छन फाइदा ?
सामाजिक सुरक्षा ( Social Security ) नम्बर प्राप्त गरी लगानी शुरु भएपछि प्रत्येक कामदारले धेरै कर्मचारी सुविधाहरु ( employee benefits ) पाउदछन , जसमा लाभहरु र पेन्सन, बेरोजगारी भत्ता , बिरामी भत्ता , अपाङ्गता भत्ता , बृद्ध भत्ता , सुत्केरी भत्ता , बालभत्ता , कर्मचारी मृत्युभत्ता , पारिवारिक दायित्व भत्ता आदि आदि पर्दछन।
सामाजिक सुरक्षा ( Social Security ) कार्यालय वा निकायमा कसरी सम्पर्क गर्ने ?
यदि तपाईसंग सामाजिक सुरक्षा ( Social Security ) नम्बर प्राप्त भईसकेको छ भने , तपाईका समस्याहरु सामाजिक सुरक्षा ( Social Security ) निकयामा Social Security Direct App मार्फत वा Social Security website मार्फत आफ्नो जिज्ञासाहरुको उत्तर पाउन सक्नुहुन्छ।
त्यसैगरी , यदि तपाई व्यक्तिगत रुपमा आफ्ना समस्याहरु छलफल गर्न चाहनुहुन्छ भने, गुगल सर्च गरेर आफ्नो नजिकको सामाजिक सुरक्षा ( Social Security ) कार्यालय वा निकाय पत्ता लगाई जानसक्नुहुन्छ। सामाजिक सुरक्षा ( Social Security ) कार्यालय वा निकायमा सेवाग्राहीको सधै निकै भिड हुने भएकोले बिहान सकेसम्म चाडो जानु उपयुक्त हुन्छ।
















