एजेन्सी । बार्सिलोनाका ब्राजिलियन मिडफिल्डर आर्थर मेलोले पूर्वस्टार नेयमार पुनः बार्सिलोना फर्किएको हेर्न आफु आतुर रहेको बताएका छन् ।
ब्राजीलका सुपर स्टार नेयमार फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) मा खुसी नरहेको समाचार आइरहेका बेला आर्थरले यस्तो बताएका हुन् । क्रिसमसको अवसरमा ‘मुन्डो डेपोर्टिभो’ सँगको कुराकानीमा आर्थरले नेयमार बार्सिलोना फिर्ता फर्कने सम्भावना बढी रहेको बताए ।

‘नेयमार युवा र क्षमतवान खेलाडी हुन् । म भगवानसँग प्रार्थना गर्छु । नेयमार बार्सिलोना फर्किउन् । नेयमारका लागि बार्सिलोना सबैभन्दा फिट क्लब हो,’ २२ वर्षीय आर्थरले भने । नेयमार जस्ता क्षमतवान खेलाडीलाई बार्सिलोना उत्कृष्ट क्लब भएको पनि अर्थुरले बताए ।
अर्थुर यसै सिजनको सुरुवातमा बार्सिलोनामा अनुबन्ध भएका थिए । उनले आफू बार्सिलोनामा अति रमाएको पनि बताए । ‘मैले बार्सिलोनाको जस्तो खेलाडीमा एकता अन्त पाएको छैन । बार्साको शक्ति र सफलता भनेकै खेलाडीबीचको एकता हो । वास्तवमा बार्सिलोना विश्वकै एक भव्य क्लब हो,’ आर्थरले थपे ।
नेयमार र आर्थर दुवै खेलाडी ब्राजिलको भएकाले पनि यी दुईबीच भावनात्मक सम्बन्ध राम्रो रहेको बुझिएको छ । ब्राजिल राष्ट्रिय टोलीका खेलाडी आर्थरले बार्सिलोनाका लागि यस वर्ष ११ खेल खेलेका छन् ।
बार्सिलोनाका पूर्व स्टार नेयमार दुई वर्षअघि किर्तिमानी रकम दुई सय २२ मिलियन युरोमा बार्सिलोना छाडेर पीएसजी गएका थिए । तर उनलाई पीएसजीभन्दा बार्सिलोना नै मन परेको खुलासा बारम्बार भइरहेको छ ।
नेयमारले पनि नजिकका साथीसँग आफू बार्सिलोना फर्कन चाहेको बेलाबेलामा बताउँदै आएका छन् । पीएसजीमा नेयमार एडिसन काभानी र कायलिन एमबाप्पेको छाँयामा परेको समाचार पनि यसअघि बाहिरिएका थिए ।
















