लिस्बोन। नेपाल सरकार मन्त्रीपरिषदले खाली रहेका विभिन्न देशमा राजदूतहरु प्रस्तावित गरेको छ । स्पेन लगायत तीन देशका राजदूतहरु फिर्ता बोलाएको छ ।
दक्षिण कोरिया, स्पेन अधिराज्य र बङलादेश कार्यरत राजदूतहरू क्रमशः महामहिम श्री अर्जुन जंगबहादुर सिंह, महामहिम श्री भरतबहादुर रायमाझी र महामहिम श्री प्रा.डा. चोपलाल भूषाललाई तीन हप्ताको तयारी म्याद दिई फिर्ता बोलाउने निर्णय गरिएको छ ।
यसैबीच परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल दीपक अधिकारीलाई फ्रान्सका लागि आवासीय तथा पोर्तुगल, एन्डोरा र मोनाको लागि गैरआवासीय नेपाली राजदूत साथै उनलाई United Nations Educational, Scientific and Cultural Organization (UNESCO) का लागि स्थायी प्रतिनिधि तोकिने गरि प्रस्तावित गरिएको छ ।
फ्रान्सकालागि आवासीय नेपाली राजदूतले पोर्तुगल पनि हेर्ने भएकोले पोर्तुगलको नेपाली समुदायबाट उनको चयनलाई निक्कै चासोपुर्वक हेरिएको छ ।
अहिले युरोपमा बेलायत पछि सबैभन्दा धेरै नेपाली पोर्तुगलमा रहेका छन् । पोर्तुगलमा बीस हजार भन्दा बढी नेपाली रहेको अनुमान गरिएको छ ।
अधिकारीले हालकी राजदूत अम्बिकादेवी लुँइटेललाई प्रतिस्थापन गर्ने छन् । लुइँटेल आफ्नो कार्यकाल पूरा गरेर फिर्ता हुन लागेकी हुन् ।
उपर्युक्त मुलुकहरूमा हाल कार्यरत राजदूतहरूलाई सम्बन्धित मुलुकबाट प्रस्तावित राजदूत नियुक्तिको सहमति प्राप्त नभएसम्म सो मुलुकको राजदूतका रूपमा कामकाज गरिरहन मन्त्रीपरिषदले स्वीकृति दिएको छ । (- राजकुमार थापा/भगवान गिरी)
















