– गणेश पाण्डेय।
पोर्तुगलका प्रधानमन्त्री एन्तोनियो कोस्ता आज बिहानै राजधानी लिस्बनको ७४६ रुटको सार्वजनिक बसमा यात्रा गरिरहेका भेटिए, जुन मार्किस पोम्बलसम्म चल्दछ।

बिहिवार बिहानको ७४६ रुटको बसका यात्रुहरुले प्रधानमन्त्री कोस्तालाई समेत बसभित्र यात्रा गरिरहेको देखेपछि नयाँ बर्षले आफुहरुको लागि खुसि ल्याएको बताएका थिए। प्रधानमन्त्री कोस्ता आफ्नी श्रीमतीका साथमा आफ्नो घरको ठेगाना नागरिक वडा कार्यालयमा सच्याउन गएका थिए।
प्रधानमन्त्री कोस्ता यात्रा गर्दै गर्दा कसैसंग फोनमा सम्बाद गर्दै थिए। उनको सम्बादबाट बसमा यात्रा गरिरहेका यात्रुहरुले समेत थाहा पाए कि कोस्ता हालसालै सिन्त्रामा रहेको आफ्नो भिल्ला घरबाट राजधानी लिस्बनको नजिकै बेन्फिकामा क्लाउडियो नुनेज स्ट्रिटमा एउटा अपार्टमेन्टमा सरेका रहेछन्।

पोर्तुगलका प्रधानमन्त्री एन्तोनियो कोस्ता सधै आफ्नी श्रीमती फेर्नान्दा तादेउका साथ बिना सुरक्षा गार्ड निर्वाध यात्रा गर्दछन। फोनमा कुराकानी गर्दै गर्दा उनले भनेका थिए ” पछिल्लो पटक बसमा हामीले यसरी यात्रा कहिले गरेका थियौ , मलाई अझै याद छैन।”
प्रधानमन्त्री पत्नी तादेउले कसैसंग फोन संवादको क्रममा आफुहरु एभिनिदा भन्ने स्थानको नागरिक वडा कार्यालय गईरहेको बताएपछि छेउमै बसेका अर्का यात्रुले सो बस एभिनिदासम्म नजाने बताएका थिए। प्रधानमन्त्री दम्पती साओ साबासिओ मै झरेर केही बेर एक बृद्धासंग भलाकुसारी गरे।

नयाँ छिमेकमा कोस्ता निकै लोकप्रिय :
पोर्तुगलका प्रधानमन्त्री एन्तोनियो कोस्ता अचेल बेन्फिकामा बस्छन। डिसेम्बरको कुरो हो , जब कोस्ता आफ्नो घर नजिकैको कुखुराको मासु पोल्ने पसलमा आफै गएर पोलेको कुखुरा किनेर फर्किए, उनको साधारण जीवनशैली देखेर छरछिमेकमा उनको लोकप्रियता झनै बढ्यो।
कानुनको बाध्यात्मक परिस्थितिले उनको घर अगाडी प्रहरी पहरेदार हुन्छन तर प्रधानमन्त्रि कोस्ता आफु निर्वाध रुपमा बिना सुरक्षा गार्ड यात्रा गर्दछन। कोस्ताले सिन्त्रामा रहेको आफ्नै भिल्लामा बस्दा सधै दिनको दुई पटक आइसी १९ राजमार्गमा हुने सवारी चाप र त्यसले ट्राफिक र सर्वसाधारणमा पर्ने असर कम गर्न राजधानी नजिकै एउटा अपार्टमेन्टमा सरेको बुझिएको छ।

















