अस्ट्रेलियामा १४ भन्दा बढी दूतावास र महावाणिज्यदूतको कार्यालयहरुमा शंकास्पद पार्सल आयो, पार्सल पठाउने व्यक्ति मेलबर्नबाट पक्राउ

नेपाली महावाणिज्यदूतको कार्यालयहरुमा पनि सतर्कता, सुरक्षा खतरा भने छैन :

अष्ट्रेलियामा रहेका विभिन्न दूतावास र महावाणिज्यदूतको कार्यालयहरुमा शंकास्पद प्याकेटका कारण आतंक फैलिएको छ । दुई दिन अगाडि सिड्नीमा रहेको अर्जेन्टिनाको वाणिज्यदूतमा फाईबर र सिलिकेटका तत्वहरुसहितको प्याकेट भेटिएको थियो ।

यसपछि अन्य विदेशी निकायहरुमा यस्तो प्याकेटको आतंक नै फैलियो । यहाँको संघीय प्रहरीले मेलबर्नमा रहेको टर्कीको महावाणिज्यदूतको कार्यालयमा खोजविन गरेको हो । यससँगै अमेरिका, ग्रिस, फ्रान्स, ईटाली, भारत, न्यूजिल्याण्ड, पाकिस्तान, स्पेन, दक्षिण कोरिया, स्वीट्जरल्याण्डका महावाणिज्यदूतको कार्यालयहरुमा प्रहरीले छानविन गरेको छ ।

पाकिस्तान र न्यूजिल्याण्डका महावाणिज्यदूतको कार्यालयका कर्मचारीले स्थानीय सञ्चारमाध्यमलाई जनाए अनुसार आज विहानै कार्यालय खुल्नासाथ यस किसिमका शंकास्पद प्याकेजहरु भेटिएका थिए । जसबाट कर्मचारीहरु त्रस्त बने । तिनमा”asbestos”. लेखिएको थियो । यसपछि प्रहरीले सबै चिठ्ठीपत्रलाई मात्र अनुसन्धान गरेको थिएन कि कन्सुलेट रहेको नजिकैको क्षेत्रमा समेत सर्च गरेको थियो ।

भिक्टोरिया प्रहरीले एक विज्ञप्ति जारी गर्दै केही संख्यामा महावाणिज्यदूतको कार्यालयहरमा यस किसिमको प्याकेजहरु आएको स्वीकार गरेको छ । भिक्टोरियामा रहेको अमेरिकी कन्सुलेट कार्यालयको प्रवक्ताले पनि त्यहाँ शंकास्पद वस्तु भेटिएको पुष्टि गरेका छन् ।

शंकास्पद वस्तु कुनै खतराजन्य नभएपनि एकै पटक यस किसिमको प्याकेज विदेशी कुटनीतिक नियोगहरुमा पठाउने कार्य कसले गर्यो भन्ने विषयमा प्रहरीले गहन अनुसन्धान थालेको छ ।

नेपाली महावाणिज्यदूतको कार्यालयहरुमा पनि सतर्कता :

यसैबीच, अष्ट्रेलियाको सिड्नी र मेलबर्नमा रहेका महावाणिज्इदूतको कार्यालयहरुमा हामीले सम्पर्क गर्दा त्यहाँ सुरक्षा सतर्कता अपनाउनका लागि परराष्ट्र मन्त्रलाय र सुरक्षा निकायबाट सूचना आएको बताइएको छ ।


न्यूसाउथवेल्सका लागि नेपाली अवैतनिक महावाणिज्यदूत दिपक खड्काले एमएनटीभीसँग कुरा गर्दै यहाँको परराष्ट्र मन्त्रालयबाट सतर्क रहन सूचना आएको बताए । यस्तै भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जनले आफुहरुलाई पनि सुरक्षा निकायबाट सतर्कताका लागि आग्रह गरिएको र कुनै सुरक्षा खतरा नरहेको बताए । महावाणिज्यदूत योन्जनले विभिन्न महावाणिज्यदूतको कार्यालयहरुमा शंकास्पद प्याकेज आएको घटनालाई आफुले चासोपूर्वक हेरिरहेको पनि जानकारी दिए ।

दूवावास र महावाणिज्यदूतको कार्यालयहरुमा शंकास्पद पार्सल पठाउने व्यक्ति मेलबर्नबाट पक्राउ :

करिब १४ भन्दा बढी महावाणिज्यदूतको कार्यालयहरु र केही दूतावासमा शंकास्पद पार्सल पठाउने एक व्यक्तिलाई भिक्टोरिया प्रहरीले पक्राउ गरेको छ । उत्तरपूर्वी भिक्टोरियाको सेपार्टनबाट निजलाई पक्राउ गरिएको हो । अधिकारीहरुले सबै ठाउँमा के पठाइएको थियो भन्ने कुरा नखुलाए पनि शंकास्पद वस्तुका रुपमा यसलाई हेरिएको थियो ।

एकै प्रकारको सामग्री asbestos निजले सेतो प्याकेजमा पठाएका थिए । पक्राउ परेका व्यक्तिलाई आज विहान अदालतमा पेश गरिएको र बयानका लागि प्रहरीले राखेको जनाइएको छ । निज व्यक्तिलाई हुलाकबाट खतरनाक सामानहरु पठाएको आरोप लगाइएको छ । यस आरोप पुष्टि भएमा निजलाई १० वर्षको जेल हुनेछ । निजले पठाएका ३९ प्याकेजमध्ये २९ वटा प्रहरीले बरामद गरिसकेको पनि जनाएको छ । यसमा भएको वस्तुको बारेमा ल्याबमा परीक्षण समेत भइरहेको छ । अष्ट्रेलिया पोष्टले बाँकी रहेका पार्सलहरुलाई जफत गरिदिएको छ ।

सर्वसाधारणले यो घटनाबाट आत्तिनुपर्ने अवस्था नरहेको पनि प्रहरीले स्पष्ट पारेको छ । पहिलो पार्सल सिड्नीमा रहेको अर्जेन्टिनाको महावाणिज्यदूत कार्यालयमा पठाइएको थियो । यस्तै पाकिस्तान, अमेरिका, स्वीट्जरल्याण्ड, भारत, दक्षिण कोरिया, न्यूजिल्याण्ड, ग्रिस, फ्रान्स, ईटाली, स्पेन र टर्कीका मेलबर्नमा अवस्थित महावाणिज्यदूतको कार्यालयहरुमा पनि यस्तो शंकास्पद प्याकेज पुगेको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार