काठमाडौं : माघ ४ बाट रिलिज हुने चलचित्र ‘गरुड पुराण’की नवोदित अभिनेत्री हुन्, प्रियंका सिंह। उनले यही चलचित्रबाट नेपाली फिल्ममा डेब्यु गर्दै छिन्। काठमाडौं, नयाँ बानेश्वरकी प्रियंकालाई उनले अभिनय गरेको बफिन्स ९८ को म्युजिक भिडियो अन्जानैमा… हेरेर निर्देशक सुवास कोइरालाले गरुड पुराणमा डेब्यु गराएका हुन्।

त्यसो त उनी त्यति बेला टिकटक (म्युजिकल्ली)मा निकै हिट थिइन्। सैयौं टिकटक भिडियोमा उनले गरेको अभिनय निर्देशक कोइरालालाई मन परेको थियो। टिकटकको भिडियो र बफिन्सको गौरव पहारीसँग उनले गरेको अभिनय हेरेर चलचित्र गरुड पुराणमा चयन गरिएको हो।
प्रियंकाको भनाइमा टिकटकमा अभिनय गरेजस्तो सजिलो फिल्ममा नहुँदो रहेछ। ‘टिकटक त एक्लै बसेर बनाउँदा अभिनय गर्न सजिलो हुन्थ्यो। तर, फिल्ममा क्यामेरासँगै लाइट र विभिन्न कलाकारसँग समूहमा काम गर्दा निकै गाह्रो पर्दोरहेछ’, उनले अनुभव सुनाइन्। चलचित्र गरुड पुराणमा उनलाई सबैले मन पराउँछन्।
मुख्यतः फिल्मका अभिनेता कर्मा, प्रवीण खतिवडा र कामेश्वर चौरसियाले मन पराउँछन्। पहिलो फिल्ममै आफूले तीन नायकको प्रेमिका भएर काम गर्न पाएकोमा धेरै रमाइलो महसुस भएको पनि उनले बताइन्।
प्रियंका स्वभावले कम बोल्ने र आफैंमा रमाउने व्यक्ति हुन्। फिल्ममा भने उनी सबैसँग धेरै बोल्ने र निडर भूमिकामा छिन्। आफ्नो स्वभावभन्दा फरक भूमिकाबारे उनले भनिन्, ‘गरुड पुराणमा ज्योतिको भूमिका निर्वाह गरेपछि मैले आफू पनि त्यो चरित्रजस्तै सबैसँग घुलमिल भएर बोल्ने र हक्की स्वभावको हुनुपर्छ भन्ने महसुस गरेँ। यसका कारण आजकाल अलिक खुल्ने कोसिस गर्दैछु।’
पहिलो चलचित्रबाट निकै आशावादी प्रियंकालाई सबै नाटकका होनहार कलाकारसँग सुरुमा काम गर्दा गाह्रो हुन्छ होला जस्तो लागेको थियो तर उनीहरूसँग करिब डेढ महिना अभिनय कार्यशालामा बसेपछि यो फिल्ममा अभिनय गर्न सहज भयो। आफूलाई कर्मा, नाजिर, प्रवीण सबैले अभिनय कार्यशालाका क्रममा धेरै कुरा सिकाएकाले पनि गरुड पुराणमा काम गर्न सजिलो भएको उनले बताइन्।
म्यानेजमेन्टमा स्नातक गर्दै गरेकी प्रियंका अहिले पूर्ण रूपमा सिनेमामै आबद्ध छिन्। उनलाई यो बीचमा केही फिल्मबाट प्रस्ताव आएको पनि थियो। तर, पहिला गरुड पुराणको रिजल्ट हेर्ने र त्यसपछि अरू फिल्ममा काम गर्ने निर्णय लिएर आफू यही फिल्ममा व्यस्त रहेको अभिनेत्रीले बताइन्। गरुड पुराणपछि उनी चलचित्र वृत्तमै अघि बढ्ने योजना सुनाउँछिन्।
















