इनरुवा: सुनसरीको काशी गाउँपालिका-८ का वडाध्यक्षसहित १२ जना जुवाडेलाई आज यहाँ सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीले पत्रकार सम्मेलनको आयोजना गरी उनीहरुलाई सार्वजनिक गरिएको हो। सार्वजनिक गरिएका सबै जनालाई प्रहरीले तीन दिनअगाडि सुनसरीे काशी गाउँपालिका-८ भण्टाबारी क्षेत्रबाट पक्राउ गरेका थिए।
पक्राउ पर्नेमा वडाध्यक्ष यादवसहित इनरुवाका चन्द्र पोखरेल, बद्री स्वर्णकार, विनोद अटल, शम्भुकुमार साह र महेन्द्र यादव छन्। त्यस्तै भोक्राहाका कुन्दन कौशिक साह, नन्दकिशोर मेहता, महेन्द्र यादव, सङ्खुवासभाका विनोद ओझा र भारत पटनाका रामअयोध्या शर्मा छन।
पक्राउ परेका स्थानबाट प्रहरीले जुवा खालसहित चार लाख २२ हजार १३५ नेपाली रुपैयाँ र ९२ हजार ३८० भारतीय रुपैयाँ बरामद गरेको थियो।
प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले उनीहरुलाई आइतबार राति पक्राउ गरेको सुनसरीका प्रहरी उपरीक्षक विद्यानन्द माझीले जानकारी दिए। पक्राउ परेकालाई जुवा ऐनअन्तर्गत मुद्दा चलाइएको उनले बताए।
















