बेलायतका नेपालीहरुले शुरु गरे ‘सेन्ड होम अ फ्रेण्ड फ्रम यूके’ अभियान – बेलायतबाट मात्रै १ लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य

लन्डन।

नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन बेलायतमा ‘नेपाल भ्रमण वर्ष २०२० उच्चस्तरीय मुल समिति यूके’ गठन गरिएको छ । शनिबार लन्डनस्थित नेपाली दूतावासमा भएको नेपाली समुदायका अगुवाहरुको भेलाले नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीलाई समितिको अध्यक्षतामा चयन गरेको छ।

गठन गरिएको उच्चस्तरीय समितिमा एनआरएन यूके, ब्रिटेन नेपाल चेम्बर अफ कमर्स, ब्रिटेन नेपाल सोसाइटी, यूके नेपाल फ्रेण्डसिप सोसाइटी, ब्रिटेन नेपाल मेडिकल ट्रस्ट, ब्रिटेन नेपाल एकेडेमिक काउन्सिल, नेपाल पत्रकार महासंघ बेलायत लगायतका बेलायतमा क्रियासिल नेपाली संगठन तथा संघ–संस्थाका प्रमुखहरु पदेन सदस्य रहनेछन् । उच्चस्तरीय मूल समितिमा विभिन्न उपसमिति पनि गठन गरिने दूूतावासले जनाएको छ । त्यस्तै गठन हुुने विभिन्न उपसमितिको जिम्मेवारी पदमा काम गर्न इच्छुकलाई आफ्नो नाम दूतावासमा पठाउनका लागि दूतावासले अपिलसमेत गरेको छ।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक आदित्य बरालको समेत उपस्थिति रहेको कार्यक्रममा राजदूूतावासले नेपाल भ्रमण वर्ष २०२० मा बेलायतबाट १ लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखेको नेपाली राजदूूत डा दुर्गाबहादुर सुवेदीले जानकारी दिएका छन । राजदूूत सुवेदीका अनुसार ‘सेन्ड होम अ फ्रेण्ड फ्रम यूके’ नारा तय गरेर हरेक नेपालीलाई कम्तीमा १ बेलायती साथीलाई पर्यटकका रुपमा नेपाल पठाउन आह्वान गरिएको छ । साथै उनले समितिले सन् २०१९ र २०२० मा बेलायतका विभिन्न ठाउँमा विविध सांस्कृतिक, सांगीतिक तथा प्रबर्द्धनात्मक कार्यक्रम गरेर नेपाल भ्रमण वर्ष २०२० को प्रचारप्रसार गर्नै पनि जानकारी गराए।

लन्डनसहित वेल्स, स्कटल्याण्ड र नर्दन आयरल्याण्डबाट समेत विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, एनआरएन , भूपू गोर्खा, व्यवसायी, सञ्चारकर्मी लगायतका प्रतिनिधिहरुको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि बेलायती सांसद वीरेन्द्र शर्माले नेपाल भ्रमण वर्ष २०२० सफल पार्न आफ्नो तर्फबाट आवश्यक सबै सहयोगको प्रतिबद्धता गरेका थिए।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार