नेपाल र संयुक्त अरब इमिरेट्स युएईबीचको टि ट्वान्टी श्रृंखला अन्तर्गतको दोस्रो खेलमा नेपालका बलरहरु निरन्तर हावी हुँदै गएका छन् । सोमपाल कामी , सन्दीप लामिछाने र अभिनाश बोहराले दुई ÷ दुई र करण केसीले एक विकेट लिदा घरेलु टोली युएईले कम योगफल जोड्दा आफ्ना महत्वपूर्ण विकेट गुमाएका छन् ।

सोमपाल कामीले सुरुवाती दुई विकेट लिदा चर्चित बलर सन्दीप लामिछानेले पनि दुई विकेट लिएपछि घरेलु टोली दबाबमा परेको छ । यस्तै मध्यक्रमका विकेट खोस्न करण केसी र अभिनाश बोहरा सफल भएका छन् ।
टस जितेर पहिलो व्याटिङ रोजेको घरेलु टोली युएईको सुरुवाती दुई विकेट लिन सोमपाल कामी सफल भएका थिए । उनले उपकप्तान ज्ञानेन्द्र मल्लको सहयोगमा युएईका ओपनर अहमद अस्फाकलाई चार रनमा आउट गरेको केही समयमा नै गुलाम सब्बारलाई पनि ६ रनमा नै पेभेलियन फर्काएका थिए ।
कामीले प्रदीप ऐरीको सहयोगमा सब्बारलाई आउट गरेका हुन् । यस्तै चर्चित बलर सन्दीप लामिछानेले पनि कप्तान पारस खड्काको सहयोगमा सइमान अनवरलाई १४ र मुहम्मद उस्मानलाई शून्य रनमा आउट गरेका थिए ।
यसैबीच करण केसीले मोहम्मद बुटलाई पवन शर्राफको सहयोगमा ११ मा आउट गर्दा अभिनाश बोहराले दिलिपसिंह ऐरको सहयोगमा अमिर हायतलाई ३ रनमा र कप्तान मोहम्मद नाभिदलाई ज्ञानेन्द्र मल्लको सहयोगमा ७ रनमा आउट गरेका छन् । नेपाली बलरहरुको प्रदर्शनका अघि दबाबमा परेको युएईले १६ ओभरको समाप्तीमा ७ विकेट गुमाएर ९३ रन जोडेको छ ।
तीन खेलको श्रृंखलामा हिजोको पहिलो खेलमा २१ रनको जित हात पारेर युएईले श्रृंखलमा एक शून्यको अग्रता लिएको छ । नेपाल आजको खेल जितेर खेल बराबरीमा उभ्याउने दाऊमा छ भने युएई आजको खेल जित्दै श्रृंखलामा कब्जा जमाउने प्रयासमा रहेको छ ।
















