काठमाडौं। बलिउडमा एउटा फिल्मको सफलताको लागि अभिनेता, अभिनेत्री तथा निर्देशक लगायत फिल्म टिमले कडा मेहनत गर्ने गर्छन् ।

फिल्मको पात्रलाई चरित्रमा उतार्नका लागि कलाकार आफैँले पनि वर्ष दिनसम्म पनि मेहेनत गर्ने कारण नै बलिउड उद्योग सफलताको शिखरमा छ । यसैबीच, सोमबार सार्वजनिक भएको फिल्म ‘छपाक’को पहिलो लुकमा देखिएकी अभिनेत्री दीपिका पादुकोणलाई हेर्दा उनलाई चिन्न निकै मुश्किल पर्छ ।

एसिड आक्रमणमा परेर बाँच्न सफल भएकी लक्ष्मी अग्रवालको जीवनीमा आधारित फिल्मको पहिलो तस्बिरमा दीपिका पादुकोण हुबहु लक्ष्मी अग्रवालजस्तै देखिएकी छिन् । तस्बिरमा दीपिकाको आँखा छाएको उदासीनता सँगसँगै आशाका किरणहरु पनि देख्न सकिन्छ । ‘फस्र्ट लुक’ सार्वजनिक भएको उक्त फिल्मको रिलीज मिति १० जनवरी २०२० तोकिएको छ । फिल्ममा दीपिकाको नाम मालती हुनेछ । फिल्ममा दीपिका पादुकोण, विक्रान्त मैसी जस्ता कलाकारको मुख्य भूमिका रहनेछ । फिल्मको शुटिङ दिल्लीमा शुरु भएको स्रोतले जनाएको छ । फिल्ममा मेघना गुलजारको निर्देशन रहेको छ भने दीपिकाको आफ्नै उत्पादन रहनेछ ।
















