सिड्नी, अस्ट्रेलिया।

सिड्नीबाट अल्बरीतर्फ जाँदै गरेका पाँच नेपाली सवारी कार दुर्घटनामा एक नेपालीको घटनास्थलमै मृत्यु भएको छ । न्यूसाउथवेल्स प्रहरीका अनुसार मृत्यु हुनेमा आर्यन आचार्य रहेका छन् । आचार्य पाँच जना सवार कारको अघिल्लो सिटमा बसेका थिए ।
गाडी तिव्र गतिका कारण अनियन्त्रित भई सडक छेउको रुखमा ठोक्किएको र बल्ड्याङ खाँदै दुर्घटनाग्रस्त भएको प्रहरीले जनाएको छ । बिहीबार विहान करिब साढे सात बजेको यो घटनामा कार चालक बलराम पराजुली गम्भीर घाइते भएका छन् । उनको उपचार अल्बरी अस्पतालमा हुन नसकेपछि क्यानबेरा रेफर गरिएको छ । त्यहाँ उनको उपचार जारी रहेपनि स्थिति चिन्ताजनक रहेको बताइएको छ ।
यस्तै कारको पछिल्लो सिटमा बस्ने तीनजना अभिषेक घिमिरे, रोशन भेटवाल र विज्ञान सुवेदीको उपचार अल्बरी अस्पतालमा भइरहेको छ । घटना ह्युम हाईवे मुलेन्ड्रामा भएको हो । पछिल्लो सिटमा बसेका तीनैजनालाई ईमर्जेन्सी सर्भिसले कारको पछिल्लो सिटमा च्यापिएको अवस्थामा उद्धार गरेको हो । गम्भीर घाइते चालक पराजुलीलाई भने हेलिकोप्टरमार्फत अस्पताल लगिएको थियो ।
प्रहरीले घटनाका प्रत्यक्षदर्शी या यस विषयमा केही जानकारी भए क्राईम स्टपर्स १८०० ३३३ ००० नम्बरमा फोन गरेर जानकारी उपलब्ध गराउन पनि आह्वान गरेको छ ।
पछिल्लो समय नेपाली विद्यार्थीहरु सडक दुर्घटना, पानीमा डुबेर लगायतका घटनामा पर्ने क्रम बढेको छ । घटनाको कारणका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
















