काठमाडौं ।

रिलिज हुन लागेको चलचित्रको नायिका हराएको गुनासो निर्माता निर्देशकले गरेका छन् । १७ जेठबाट नयाँ चलचित्र ‘कप्स’ (सत्य सेवा सुरक्षणम्) रिलिज हुँदै छ । चलचित्रको स्वरांकन सकेपछि ६ महिना अघिबाट मुख्य नायिका सन्दीपा लिम्बू सम्पर्कमा नआएको निर्देशक सम्राट सापकोटाले बताएका छन् ।
‘सन्दीपाले हाम्रै फिल्मबाट अभिनय सुरु गरेकी हुन् । यो फिल्ममा मुख्य भूमिका निर्वाह गरेकी सन्दीपा नेपाली चलचित्र उद्योगमा सम्भावना बोकेकी कलाकार भएर पनि ६ महिनादेखि हाम्रो सम्पर्कमा छैनन्,’ निर्देशक सापकोटाले भने ।
नायिका सन्दीपासँग आफ्नो कुनै मनमुटाव नभएको तर उनी किन सम्पर्कमा नआएको भन्ने आफूले बुझ्न नसकेको पनि उनले बताएका छन् ।
मिस नेपाल २०१६ मा भाग लिएकी धरानकी सन्दीपा चर्चित मोडल हुन् । उनले मिस नेपालको उपाधि नजिते पनि मोडलिङमार्फत आफूलाई स्थापित गराइसकेकी थिइन् ।
फिल्ममा अडिसनमार्फत उनलाई नायिका बनाएको पनि निर्देशक सापकोटाले बताए । चलचित्र कप्समा अभिनेता अनुपविक्रम शाहीको प्रेमिकाको भूमिकामा सन्दीपा छिन् । उनी केही समयदेखि मोरिसस बस्दै आएको जानकारी राजधानीलाई गराउँदै त्यसबारे आफूलाई पटक्कै थाहा नभएको निर्देशक सापकोटाले भने, ‘नायिका सन्दीप फोन, मेल, फेसबुक र भाइबर केहीमा पनि हाम्रो सम्पर्कमा छैनन् । फिल्म रिलिजको बेला प्रचार प्रसारमा हिँड्नुपर्ने नायिका फोन सम्पर्कमा नआउँदा मैले अरु कलाकारलाई दौडाउनुपरेको छ ।’
फिल्ममा अनुप विक्रम र सन्दीपासँगै अमित गिरी, राजाराम क्षत्री, अनुपमा भण्डारी, निरुता स्याङ्तान, सुन्दर श्रेष्ठ, रोशन सुवेदीसहितका कलाकारको मुख्य भूमिका छ ।
अभिनेत्री सन्दीपा फिल्मको प्रचारमा नहुँदाको अनुभव सुनाउँदै यसका नायक अनुपले भने, ‘सन्दीपासँग मेरो पनि केही समयदेखि सम्पर्क छैन । फिल्म रिलिजको बेला मुख्य नायिका नै सम्पर्कमा नहुँदा अवश्य प्रचारप्रसारमा मैले बढी समय दिनुपरेको छ ।’ उनी अकस्मात् किन फिल्म युनिटबाट टाढा रहेको भन्ने आफूले पनि बुझ्न नसकेको अभिनेता अनुपविक्रमले बताए ।
फिल्मको डबिङ सकेर पछिल्लो समय साइप्रसमा एउटा गीतको छायांकन सम्पन्न गरेर नेपाली फर्किएपछि सन्दीपा कप्स निर्माण पक्षबाट सम्पर्कविहीन भएको पनि सापकोटाले प्रस्ट पारे ।
















