पारसको सतकले सिंगापुरविरुद्ध नेपाल ९ विकेट विजयी

काठमाडौं।

कोणात्मक टी–ट्वान्टी सिरिजमा कप्तान पारस खड्काको सेन्चुरीसँग नेपालले सिंगापुरलाई ९ विकेटले हराएको छ। शनिबार भएको खेलमा ओपनर इशान पाण्डे ५ रनमा आउट भएका थिए तर कप्तान पारस र आरिफ शेखले नेपालको ईनिङ्स उकासेर जित दिलाएका हुन्।

टी–ट्वान्टी अन्तराष्ट्रिय क्रिकेटमा नेपालका लागि पहिलो शतक प्रहार गर्ने खेलाडी बनेका पारसले ५२ बलमा नटआउट १ सय ६ रन बनाए।उनले ९ छक्का र ७ चौकाको मदतले सो रन बनाएका थिए। उनलाई आरिफले ३९ रनमा अविजित रहँदै साथ दिएका थिए।

टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ३ विकेट गुमाएर १ सय ५१ रन बनाएको थियो।सिंगापुरका लागि कप्तान टिम डेभिडले रनको ६४ अर्धशतकीय इनिङ्स खेले। यस्तै जनक प्रकाशले अविजित २५ रन बनाए। सुरेन्द्रन चन्द्रमोहनले ३५ रन तथा मन प्रित सिंहले १५ रन बटुलेका थिए।

नेपालका लागि करण केसीले २ विकेट लिएका थिए भने डेब्यु खेलाडी सुशन भारीले १ विकेट लिए। पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो। जिम्बावे एक खेलबाट २ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ। नेपाल दुई खेलबाट २ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ। एक खेल खेलेको सिंगापुर अंकविहीन अवस्थामा तालिकाको पुछारमा छ।

सिरिज अन्तर्गत नेपालले मंगलबार पुनः जिम्वाबेसँग खेल्नेछ। यस्तै बुधबार नेपालले पुनः सिंगापुरसँग खेल्नेछ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार