शेर बहादुर छन्त्याल , बेल्जियम।

भारतीय साम्राज्यवादले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभागलाई आफ्नो देशको राजनीतिक नक्सामा राखेपछी बेल्जियमका नेपालीहरुले ब्रसेल्स स्थित भारतीय दूतावासमा विरोध जनाउदै ज्ञापनपत्र बुझाएका छन । ‘गो ब्याक इन्डिया फ्रम नेपाल’ लेखिएको ब्यानर सहित बेल्जियम स्थित विभिन्न राजनितिक संगठन, एनआरएन, जातीय तथा क्षेत्रीय संघ संस्थाहरुको उपस्थितिमा भारतीय दूतावास, ब्रसेल्समा नारा जुलुस गरिएको छ ।
नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमको बिशेष पहलमा आयोजना गरिएको उक्त कार्यक्रममा यहाँका सबै राजनीतिक संगठनका नेत्रित्वहरुले भारतको अन्यापूर्ण गतिविधिको घोर बिरोध गरेका छन । प्रतिकूल मौसमको बाबजुद पनि दूताबास अगाडि ‘गो ब्याक इन्डिया, कालापानी, लिम्पियाधुरा, लिपुलेक हाम्रो हो, भारतीय बिस्तारबाद मूर्दाबाद’का नारा लगाएका थिए ।

नेपाली जनप्रगतिशील मोर्चा, बेल्जियमका अध्यक्ष मेख गुरुङ्गले संचालन गरेको कार्यक्रममा नेपाली जनप्रगतिशील मन्चका अध्यक्ष जीत लामा, प्रवासी नेपाली मन्चका महासचिव चन्द्र शर्मा, प्रवासी नेपाली एकता समाजका अध्यक्ष बालक्रिष्ण कंडेल, नेपाली संघीय समाजका अध्यक्ष नेत्र मगर, नेफिन, बेल्जियमका उपाध्यक्ष होम गुरुङ, जनसम्पर्क समिती, बेल्जियमका सभापति सिता सापकोटा, एनआरएन बेल्जियमका अध्यक्ष चित्र सुबेदी, एनआरएन का केन्द्रीय सहकोषाध्यक्ष लोक दाहाल लगायत अन्य संघ संस्थाका ब्यक्तिहरुले भारतीय बिस्तारवादी नितिको विरोध गर्दै मन्तब्य राखेका थिए । नेपाली जनप्रगतिशील मोर्चा, यूरोपका अध्यक्ष बिष्णु भुजेलले ज्ञापनपत्र मर्म बारे बुझाउदै सबै माझ पढिसके दूताबासमा बुझाईएको थियो ।
















