रुपन्देही। तिहारको अवसरमा रुपन्देहीमा विश्वकै सबैभन्दा लामो रंगोली बनाइएको छ । सामाजिक क्षेत्रमा काम गर्दै आएको संस्था बागेश्वरी असलशासन (बास) रुपन्देही र हाटी अमुवा युवा क्लबको आयोजनामा अहिलेसम्मकै लामो रंगोली बनाइएको हो ।

युवा क्लबले कला संस्कृति तथा पहिचानको जर्गेर्ना, पर्यटकलाई आकर्षित गर्न र गिनिज बुकमा नाम लेखाउने गरी विश्वकै ठूलो रंगोली बनाइएको बास रुपन्देहीका अध्यक्ष विजया खत्रीले जानकारी दिनुभयो ।
विश्वमा अहिलेसम्म ठूला आकारका दुई वटा रंगोली बनाइएको छ । भारतमा १ दशमलव ३ किलोमिटर र बंगलादेशमा १ दशमलव ४ किलोमिटरको रंगोली बनाइएको छ ।
नेपालको भैरहवामा भने १ दशमलव ५ किलोमिटरको रंगोली बनाइएको हो । उक्त रंगोली भैरहवा क्षेत्रको लखन चोकदेखि हाटी अमवासम्मको सडकमा बनाईएकोछ । उक्त रंगोली सेतो, पहेंलो, रातो, निलो र हरियो गरी ५ प्रकारका रंग प्रयोग गरिएको बास रुपन्देहीले जनाएको छ ।
रंगोली बनाउन ३ सय भन्दा बढी कलाकार सहभागी भएका थिए भने साढे ५ लाख रुपैयाँ खर्च लागेको पनि बास रुपन्देहीले जानकारी दिएको छ ।
















