कश्मीरमा अस्ताएका गोर्खाली अर्जुनको भारतमै भयो अन्त्येष्टि !

काठमाडौँ |

गत पुसको पहिलो साता मात्रै गाउँबाट कश्मीर फर्किएका गोरखा नगरपालिका-५ ठुलोरिपका अर्जुन थापाले बुधबार ज्यान गुमाउन पुगे। एकमहिने बिदामा पल्टन फर्केका अर्जुन कहिल्यै नफर्कने गरी लडाइँको मैदानमा ढले।

उनै अर्जुनको शुक्रबार भारतको बागडोगरमा अन्त्येष्टि गरिएको छ। भारतको पश्चिम बङ्गाल राज्यस्थित बागडोगरा सैनिक क्याम्पमा परिवारको उपस्थितिमा उच्च सम्मानका साथ अर्जुनको अन्त्येष्टि गरिएको हो। अर्जुनसँगै ज्यान गुमाएका गुमाएका अर्का भारतीय सैनिक सावन्त सन्दीप रघुनाथको पनि अन्त्येष्टि गरियो।

मृतक सैनिकद्वयको पार्थिव शरीरमा भारतीय सैनिक कमाण्डर र अन्य सरकारी अधिकारीले माल्यार्पण गर्दै श्रद्धाञ्जली दिए। यही बुधबार जम्मू-कश्मीरको रजौरी जिल्लास्थित सीमा क्षेत्र नौशेरामा चरमपन्थीसँगको भिडन्तमा गोर्खा सैनिक अर्जुन र भारतका सन्दीप मारिएका थिए।

घर फर्किने कुरा गर्दा गर्दै कश्मीरमा अस्ताए अर्जुन

२५ वर्षीय गोर्खा सैनिक जवान अर्जुनकी श्रीमती सरिता थापा मगर छिन्। अर्जुनको अन्तिम श्रद्धाञ्जलीका लागि उनकी श्रीमती, बुवासहित परिवारका सदस्य बागडोगरा पुगेका थिए। जवान छोराको अन्तिम बिदाइ विदेशी भूमिमै गर्नुपर्दा उनका बाबु विक्षिप्त भएका थिए।

बुधबार मात्रै पनि अर्जुनले फेसबुकमा परिवारका सदस्यसँग कुराकानी गरेका थिए। एक्कासि पछि कुरा गर्छु भनेर अफलाइन भएका अर्जुन साँझसम्म पनि अनलाइनमा नआएपछि परिवारका सदस्यहरू आत्तिएका थिए।

अर्जुनको फोन पनि नलाग्ने र अनलाइन पनि नआएपछि परिवारका सदस्यले उनका साथीलाई सम्पर्क गरे। जतिबेला परिवारका सदस्यले अर्जुनका साथीलाई सम्पर्क गरे त्यतिबेला अर्जुन जम्मु–कश्मीरको रजौरी जिल्लाको सीमाक्षेत्र नौशेरामा भएको झडपमा ज्यान गुमाइसकेका थिए।

काश्‍मीरको लाइन अफ कन्ट्रोल (एलओसी) मा भारत र पाकिस्तानबीच गोली हानाहान हुँदा उनको मृत्यु भएको थियो। अर्जुन परिवारका एक्ला छोरा थिए। उनले २ वर्षअघि आमा गु्माएका थिए। २५ वर्षका अर्जुन भर्ती भएको चार वर्ष मात्रै भएको थियो।

अर्जुन ६ महिनाअघि मात्रै विवाह बन्धनमा बाँधिएका थिए। उनको परिवारमा बुबा, श्रीमतीसहित एक दिदी र एक बहिनी छन्। अर्जुनको मृत्युको खबर सुनेपछि रिपगाउँ शोकमा डुबेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार