वडाअध्यक्षसहित ३० जुवाडे पक्राऊ – नेताको दवाबपछि सबै छुटे

जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका ३० जना जुवाडे माफी मागेर रिहा भएका छन्। बुधबार राति पक्राउ परेका रौतामाई गाँउपालिका ८ का वडा अध्यक्ष टेकबहादुर बलम्पाखी मगरसहित ३० जना जुवाडे बिहीबार राति माफी मागेर छुटेका हुन्।

उदयपुरका प्रहरी प्रमुख एसपी नवराज भट्टले एक पटकलाई मात्र माफी दिएको बताए । ‘वडा अध्यक्ष सहित धेरै राजनीतिक दलका नेता कार्यकर्ता परेका थिए’, उनले भने, ‘आम गाईघाटवासी एक पटकलाई माफी दिनु भन्दै आए, जनताको बीचमै माफी माग्न लगाएर छाडिदिएँ।’

दसैंको बेला गएको असोज १३ गते राति प्रहरीले तास खेलिरहेको अवस्थामा केही व्यक्ति पक्राउ गरी फेरि नदोहोर्‍याउने शर्तमा छाडेको थियो। अहिले पनि प्रहरी त्यही गरेको स्थानीयको आरोप छ।

 

‘आखिर प्रहरीले जुन बाहना बनाए पनि उही पुरानै क्रियाकलाप दोहोरिएको छ’ स्थानीय शिक्षक पदम राईले भने, ‘प्रहरीले पक्राउ गरेका जुवाडेलाई कारबाही हुन्छ भन्ने आशा लागेको थियो, तर भएन।’

छुटाउन नेताहरुको दवाब

पक्राउ परेका जुवाडेलाई छुटाउनको लागि नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका जिल्ला स्तरीय नेताहरुले प्रहरीलाई दवाब दिएका थिए। ‘चुनावको बेला प्रहरीले जुवाको नाममा ताण्डव देखाउने,’ छुटाउन जानेमध्येका एक नेताले भने, ‘सर्वेसर्वा प्रहरी मात्र हो भन्ने देखाउन खोजियो।’

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार