काठमाडौं : परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पोर्चुगलमा दूतावास स्थापनाका लागि आफुले पहल गर्ने बताएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएन)ले पोर्चुगलमा दूतावास स्थापनाको माग गर्दै बुझाएको ज्ञापनपत्र बुझ्दै परराष्ट्रमन्त्री ज्ञवालीले एनआरएनको प्रयासमा नेपाल सरकार सकारात्मक रहेको बताएका हुन् ।

सिंहदरवारस्थित आफ्नो कार्यकक्षमा ज्ञापन पत्र बुझ्दै मन्त्री ज्ञवालीले भने, ‘त्यहाँको समस्या समाधानका लागि एनआरएनको पहल सकारात्मक छ, हामी उपयुक्त निकास बारे छलफल गरिरहेका छौं ।
एनआरएन पोर्चुगल ले पछिल्लो समय यूरोपेलि मुलुक पोर्तुगल मा बसोबास गर्ने नेपालीको संख्या बढ्दै गएकाले दूतावास स्थापनाका लागि यथासक्य पहल गरिदिन परराष्ट्रमन्त्रीसँग आग्रह गरेको हो । दूतावास नभएकै कारण पोर्चुगलमा नेपालीहरुलाई समस्या भएको उल्लेख गर्दै ज्ञापनपत्रमा नेपालीमा लगानी प्रवर्द्धन र ब्यापार तथा पर्यटन विस्तारका लागि पनि दूतावास अपरिहार्य रहेको उल्लेख छ ।
मन्त्री ज्ञावलीलाई पोर्चुगल एनआरएनका तर्फबाट ज्ञापनपत्र बुझाउँदै एनआरएन पोर्चुगलका अध्यक्ष तिलकप्रसाद गैरेले लामो समयदेखि आफूहरुको माग सुनुवाइ नभएकोप्रति सरकारको ध्यानाकर्षण गराए । ‘पोर्चुगलमा बस्ने नेपालीको संख्या बढेको त छ नै, त्यहाँ भएर यूरोपका अन्य स्थानमा आउजाउ गर्नेको चाप पनि थपिदै गएको छ,’ गैरैले मन्त्रीसँगको भेटघाटमा भने, ‘राज्यका तर्फबाट अभिभावकीय भूमिका निर्वाह गर्ने दूतावास नहुँदा समस्या भएको छ ।
करिब तीस हजार को संख्या मा नेपाली रहेको पोर्चुगलमा नेपाली दूतावास नहुँदा हरेक सरकारी कामका लागि फ्रान्स धाउनुपर्ने बाध्यता रहेको छ । विगतमा पनि एनआरएन पोर्तुगलका अगुवाहरुले विशेष पहल गर्दै आएका भए पनि नेपाल सरकारले यस विषयमा कुनै पहल नगरेको पोर्तुगल का प्रवासी नेपालीहरुको गुनासो रहेको छ ।
















