घाना ।

गैरआवासीय नेपाली संघ घानाले घानामा अलपत्र परेका तीन नेपालीको उद्धार गरेको छ ।
नेपालमा रहेको राइज रिसोर्सेज म्यानपावरबाट वैदेशिक रोजगारीका लागि घाना पुगेर अलपत्र परेका रेशम श्रेष्ठ, सुमन भण्डारी र पशुपति खड्कालाई एनआरएनए घानाले उद्धार गरेर नेपाल फर्काएको हो ।
एनआरएनए घानाका कोषाध्यक्ष विकास सुवेदी, विशेष सल्लाहकार दिनेश कुमार पाण्डे, उपाध्यक्ष बालकृष्ण निरौला, पूर्वअध्यक्ष पदम राना, युवा संयोजक सुनित कुमार चौधरी, एनआरएनए आइसीसी सदस्यहरु, अफ्रिका संयोजक रोशन थापा र संघका पूर्वकेन्द्रीय कोषाध्यक्ष हिक्मत थापा, नेपाली दूतावास साउथ अफ्रिका र अध्यागमन विभाग घानाबाट उनीहरुको उद्धारका लागि सहयोग भएको संघले जनाएको छ ।

बैदेशिक रोजगारको विभिन्न प्रलोभन देखाएर अफ्रिकाका विभिन्न देशमा ल्याएर नेपाली अलपत्र पारेको समाचारहरु आइरहे पनि घानामा यस्तो समस्या देखिएको पहिलोपटक भएको संघले बताएको छ ।
‘हामीले घानामा यसरी बैदेशिक रोजगारी सम्बन्धी समस्या पहिलोपटक देख्यौं र जो कोही पनि यस्तो कार्यमा संलग्न भै पीडा दिनेहरुको घोर भत्र्सना गर्दछौं । साथै यसरी जालझेलमा नपार्न र नपर्न पनि अनुरोध गर्दछौं ।’ एनआरएनए घानाले भनेको छ ।

यसै विषयमा उद्धार गरिएका रेशमसँग कुरा गर्दा उनले आफूहरु त्यहाँ ४० दिन सम्म बस्नु परेको र बुधबार बेलुका नेपाल आइपुगेको बताउँदै एनआरएनए घानालगायतको सहयोगप्रति आभार व्यक्त गरेका छन् ।
१५-२० वर्ष अघिदेखि घानामा नेपालीहरु प्रवेश गर्न थालेको पाइएको र हाल संघमा ४८ जना दर्ता रहेको पनि सघले बताएको छ ।

जसमा कोही परिवारसहित तथा कोही विभिन्न निर्माण कम्पनी, होटल, रेष्टुरेण्ट तथा आफ्नै व्यवसाय गरेर बसेको पनि संघले बताएको छ ।
घाना एकदमै शान्त देश रहेको र घानियनहरु पनि अनुशासित र सहयोगी भएको बताउँदै संघले नेपाली दाजुभाइ दिदीबहिनीलाई बैद्यानिक बाटो भएर घाना आउन पनि अनुरोध गरेको छ ।
















