लिस्बन।

पोर्चुगलमा २ जनालाई कोरोना भाइरस संक्रमणको पुष्टी भएको छ। आज सोमबार बिहान स्वास्थ्य मन्त्री मार्ता तेमिदुले सोमबार बिहान पत्रकार सम्मेलन गरी यसको पुष्टि गरेकी हुन् ।
कोरोना भाइरस संक्रमित दुवै व्यक्तिअन्य युरोपेली मुलुकमा बिदा मनाएर पोर्चुगल फर्किएका थिए।अहिले दुवैलाई पोर्तो अस्पतालमा विशेष निगरानीमा राखिएको बताइएको छ ।
कोरोना भाइरस संक्रमित भएका पहिलो ब्यक्ति ६० बर्षीय छन् र उनलाई पोर्टोको सेन्ट्रो होस्पिटेलर डे साओ जोओको अस्पतालमा भर्ना गरिएको छ। उनमा फेब्रुवरी २९ मा कोरोनाको लक्षणहरु देखा परेको थियो भने तत्पश्चात क्वारेन्टाइनमा राखेर अनुसन्धान गर्दा आज मात्रै पुष्टी भएको हो। हाललाई उनको अवस्था स्थिर छ।
कोरोना भाइरस संक्रमित दोश्रो व्यक्ति ३३ बर्षीय युवा स्पेनको भ्यालेन्सियामा बिदा मनाएर फर्किएका थिए। उनी पेशाले आफै डाक्टर पनि हुन्। उनमा पहिलो पटक फेब्रुवरी २६ मा कोरोनाक लक्षणहरु देखा परेका थिए। क्वारेन्टाइनमा राखिएका उनको अवस्था पनि स्थिर छ।
पोर्चुगल युरोपकै सस्तो होलिडे मध्येको एक भएकोले यहाँ कोरोना संक्रमणको उच्च जोखिम छ।
पोर्चुगलमा कोरोना भाइरसको केसको पुष्टि भएपछि मन्त्री तेमिदुले विमानस्थल र सार्वजनिक यातायातमा सावधानी र निगरानी बढाएको बताएकी छिन् ।
सन् २०१९ को डिसेम्बरमा चीनबाट शुरु भएको कोरोना भाइरसका कारण हालसम्म कम्तिमा २९८० जनाको मृत्यु भईसकेको छ भने ८७००० भन्दा बढी संक्रमित भएका छन्।
कोरोना भाइरसबाट संक्रमित भएकाहरुमध्ये उपचार पश्चात् ४१ हजारलाई निको भईसकेको छ।
कोरोना भाइरसबाट चीनमा मात्रै २८७३ को मृत्यु भईसकेको छ। चीनका अलावा इरान, इटाली, दक्षिण कोरिया, जापान, फ्रान्स, ताईवान , अष्ट्रेलिया , थाइल्याण्ड, अमेरिका र फिलिपिन्समा पनि कोरोना भाइरसका कारण मृत्यु भएको खबर छ।
















