पोर्चुगलमा फार्मेसीमा मास्क र सेनिटाइजर पाउनै छाडे, सुपरमार्केटका सेल्फ खाली !

गणेश पाण्डेय, लिस्बन।

चीनको वुहान प्रान्तबाट संसारभर फैलिएको कोरोना भाइरस युरोपमा भने इटालीबाट फैलियो। युरोपको प्रायः सबै मुलुकहरु कोरोनाको चपेटामा परेका छन्। पछिल्लो एक साताबाट पोर्चुगलमा पनि कोरोनाको संक्रमण निकै बढ्दो छ।

पोर्चुगलमा कोरोनाको संक्रमण बढेसंगै यसको संख्या बढ्न नदिन सरकारले ३० बुदे कार्यक्रम अगाडी सारेको छ। कोरोना भाइरसका कारण पोर्चुगलमा देशब्यापी स्टेट अफ अलर्ट जारी गर्दै आपतकालिन राज्य घोषणा गर्ने तयारीमा छ। यसैबिच संक्रमण बढ्न नदिन देशभरिकै शिक्षण संस्थाहरु बन्द गरिएको छ। भेला हुने सम्पूर्ण कार्यक्रमहरु रद्द गरिएका छन्।

सरकारको यो निर्णयसंगै र कोरोना संक्रमितको संख्या वृद्धिभएसंगै आम जनतामा त्रास फैलिएको छ। सर्वसाधारणले आफुलाई चाहिने सरसफाईका समान र खानाको बन्दोबस्त गर्नथाले। सुपरमार्केटमा किनमेल र लामो समयको लागि आवश्यक सामान संचय गर्नेहरुको भिड बढ्यो। अहिले सुपरमार्केटका सेल्फहरु प्रायः खाली छन्। बिशेष गरी सरसफाईका समान र खानेकुरा पाउनै छोडेको छ।

त्यस्तै फार्मेसीमा पाईने सेनिटाइजर र मास्कहरु पाउनै छोडेको छ। अधिकांस फार्मेसीहरुको ढोकैमा ” मास्क र सेनिटाइजर उपलब्ध छैन, माफी चाहन्छौ ” लेखिएका सुचनाहरु टासिएका छन्।

पोर्चुगलको सरकारले कोरोना संक्रमणसँग जुध्न देशब्यापी स्टेट अफ अलर्ट जारी गरेको छ । सोमबारदेखि पोर्चुगलमा सबै विद्यालय र विश्वविद्यालयहरु बन्द हुने भएका छन् । स्टेट अफ अलर्ट विगतमा आगलागीका बेलामा र इन्धन आपूर्तिमा अवरोधका बेलामा जारी गरिएको थियो ।

स्टेट अफ अलर्ट जारी भएसंगै ” Loja Do Cidadao ” नागरिक सेवा कार्यालयहरुमा पनि बिशेष कडाई गरिएको छ। सजिलै सुबिधा पाईने नागरिक सेवा कार्यालयहरुमा मूल गेटबाट नै एक एक गरी मात्रै भित्र प्रवेश गराईदै सेवा प्रदान गरिदैछ।

पोर्चुगलका राष्ट्रपति केहीदिनदेखि सेल्फ क्वारेन्टाइनमा रहेका छन् । पोर्चुगलमा सकभर सबैकामहरु रद्द गरेर घरभित्रै बस्न भनिएको छ । अहिलेसम्म पोर्चुगलमा ११२ जनामा कोरोनाको संक्रमण पुष्टी भएको छ । आजमात्रै थप ३४ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।

पोर्चुगलमा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा त्यहाँ रहेका नेपालीहरुमा पनि त्रास बढेको छ । युरोपका देशहरुमध्ये पोर्चुगलमा नेपालीहरुको संख्या उल्लेख्य रहेका कारण उनीहरु काममा जान समेत त्रसित हुन थालेका छन् ।

अहिलेसम्म विश्वमा कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार ६ सय ३७ पुगेको छ । मृतकको संख्या ५ हजार १ सय २० पुगेको छ । चीनमा संक्रमित दर अत्यन्तै कम भइरहेको छ भने मृत्युदर पनि कम भइरहेको छ । तर युरोप र एसियामा संक्रमण दर उच्च बनेको छ ।

स्पेनमा आजमात्रै थप ११८८ मा कोरोना संक्रमण पुष्टी भएको छ भने इरानमा आजमात्रै १२८९ जनामा कोरोना संक्रमण भएको छ । इटलीमा कोरोना संक्रमितको संख्या १५ हजार १ सय १३ पुगेको छ ।

युरोपको शेंगेन क्षेत्रमा कोरोनाको संक्रमण छिटो फैलिएको देखिएको छ । शेंगेन क्षेत्रभित्र पर्ने इटली, स्पेन, जर्मनी, फ्रान्स र स्वीट्जरल्याण्डमा सबैभन्दा धेरै प्रकोप देखिएको छ । त्यस्तै युरोपका नर्वे, स्वीडेन, नेदरल्याण्ड, डेनमार्क, बेल्जियम, अष्ट्रिया पनि कोरोनाबाट उच्चरुपमा प्रभावित छन् ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार