लिस्बन।

पोर्चुगलमा कोरोना संक्रमितको उपचारमा खटिएका ८५० भन्दा बढी स्वास्थ्यकर्मी नै संक्रमित भएर अस्पतालमा भर्ना गरिएका छन्। दुई दिन अगाडीसम्म उपचारमा खटिएका ७६४ जना स्वास्थकर्मीहरु मात्रै संक्रमित भएका थिए। पछिल्लो दुई दिनमा मात्रै थप ८६ जना स्वास्थ्यकर्मीहरु संक्रमित भएपछि यसले कोरोना संक्रमितहरुको उपचारमा अझै बढी चुनौती थपिएको छ।
संसारभर कोरोना संक्रमितहरुको उपचारमा खटिएका अग्रपंक्तिमा रहेका स्वस्थ्यकर्मीहरुले सबैभन्दा बढी चुनौतीको सामना गर्नुपरिरहेको छ। संसारभर नै उनीहरुका लागि चाहिने अत्यावश्यक पीपीइ सामग्रीहरु नै कमी भएको समाचारहरु आईरहेका छन्।
विपदको यो अवस्थामा स्वास्थकर्मीहरुलाई सहयोग गर्न र आफ्नो ज्यानको सुरक्षा गर्न सर्वसाधरणलाई घरमै बसेर कोरोना रोकथाममा सहयोग गर्न अनुरोध गरिएको हो।
कोरोना संक्रमितहरुको उपचार गर्दैगर्दा यतिठुलो संख्यामा स्वस्थाकर्मीहरु संक्रमित भएपछि पोर्चुगलमा स्वास्थकर्मीहरुको कमी देखिएको छ। अवकाश प्राप्त स्वास्थकर्मीहरु र मेडिकल बिद्यार्थीहरुलाई सहयोग गर्न सरकारले अनुरोध गरेको छ।
पछिल्लो तथ्यांक अनुसार पोर्चुगलमा कोरोना भाइरस ( कोविड – १९) बाट संक्रमित हुनेको संख्या ६४०८ पुगेको छ भने हालसम्म १४० को मृत्यु भएको छ।
कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थप २१ जनाले ज्यान गुमाएका छन् भने ४४६ जना थप संक्रमित भएको स्वास्थ्य महानिर्देशनालयले जनाएको छ।
पछिल्लो चार दिनदेखि रिकभर हुनेको संख्या शुन्य रहेको छ। उपचार पश्चात् हालसम्म ४३ जना मात्रै रिकभर भएका छन्।
















