बादसाह भिक्टोरियासित पैल्हे मुलाकात हुँदा बादसाहका हजुरमा रह्याका प्राइम मिनिष्टर, कमाण्डर–इन–चिफ, लाठ, डुक्, कपनी साहेब, चेरमीन्, प्रिन्स आलवट यति मानिस साथ थिया । यति मानिस साथमा ली कुइन बैठकमा खडा रह्याकी थिइन् । तेही बखतमा नेपालमा श्री प्राइम मिनिष्टर साहेब, उनका भाइ कर्णेलहरु, काजी सर्दार, मुसाहेब साथमा ली गया र मुलाकात भयो । नेपालका श्री ५ महाराजबाट पठायाको खरिता बादसाहाका हातमा दिनुभयो र खरिता हातमा ली सिर झुकाइन् । नेपालको खैर मिजाद पुछिन् । चाहिन्या सम्मको बिस्तार गर्नुभयो ।

बाटामा आउँदामा जहाज समुद्रमा कसो भयो, खानपीनामा तकलीफ भयो कि भनी सोधिन् र हजुरका प्रतापले मलाई, मसित आयाको मानिसलाई केही दुःख भएन हजुरका अकबालले आनन्दसित आञ्यौं भन्नुभयो र खुसी भइन् । तिमी आयौ, बढिया भयो, दुई सर्कारको एकचित्त भयो, पछि परन्तुसम्म प्रीति रह्यो, दोस्तीमा खलबल कैल्है हवैन भनी खातीर गरिन् । नेपालका वजिर हुसियार रह्याछन्, देख्नमा पनि गहनाकपडा लायाको सुहायाको पनि, राम्रा जवान रह्याछन् भनी कुरा ग¥या । अब यिनलाई डेराडंडा, साहाबेसाहाको तकीती गर्न होसियार मानिस राखिदेउ, कोनै कुराको तकलीफ हुन नपावस् भनी प्राइम मिनिष्टिरलाई हुकुम दिइन् । दुई कप्तान पुलिसका सिपाही नोकर राखिदिया । पैले मुलाकातको बेहोरा यही भयो ।
दोस्रो मुलाकातको बेहोरोमा ग्यावद् भारदार १५/१६ सय उनका मीमसाहेब भारी गहना पोसाक लाई आयाका थिया । बादसाहा कुइन् सिंङ्गासनमा आड लागी खडा रह्याकी थिइन् । यस्तै बीचमा नेपालका श्री प्राइम मिनिष्टर साहेबहरु आया र कुइन्को सलाम ग¥या र कुइनले बडा आदारसित अगाडी नजीकैमा बस भनिन् र नजीकैमा रह्याका थिया । ताहाँ रह्याका भारदारहरुले कुइन्को दर्शन एक एक गरी गन्र्या । कोही टाढैबाट सलाम गर्दै जांदै गन्र्या, कोही कुइन्का हातमा गुड्माने गन्र्या, कोही लेडीहरु हातमा गुडमाने गरी कुइनका गालामा चुम्बन गरी जान्या ।
अघिबाट कुइनको दर्शन गन्र्या । पछिबाट प्रिन्स आलवट्को सलाम गन्र्या । उहाँको प्राइम मिनिष्टरले नेपालका श्री प्राइम मिनिष्टर साहेबलाई एक एक गरी यो भारदार यो हो, यसलाई काम यो छ भनी, यो फलाना साहेबको लेडी हो । यसको कुइन्सित यो नाता छ भनी चिह्नाइदिन्थ्या । यस्तै रीतसित भारदार लेडीहरुले कुइनको दर्शन गरी गया । यो तमाशा नेपालका मुख्तियार जंङ्गबहादुर कुवर राणाजीलाई देखाया । ती भारादार लेडीहरुले पनि बडो खातिर ग¥या भन्न्या छापा देशदेशमा गयो ।
फेरि तेस्रो मुलाकातमा जति बेलाइत् सहरभरका भारादार, लेडीहरुलाई, नेपालका वजिरलाई कुइन्ले निम्तो गरिन । चार घडी रात जाँदा सब भारादार लेडीहरु सामेल भया । त्यो दरबारका बैठक कस्तो भन्या बयान गरी सक्नु छैन । दुई सय हात लम्बा, पचास हात चाकलो गज भयाको भारी गलैंचा बिछायाको चारै तर्फ अैना लाग्याको । तसबीरका लयन लाग्याको छ । रंगरंगका झाडबत्तीले झलावर भयाको, लालटेन पानस झैझाड, ग्यासबत्तीले सर्वत्र उज्यालो भयाको, जात–जातका फूल झ्याल–झयालमा टिपीलमा राख्याका छन् । अत्तरका खुरावाईले बहुत सुगंध चल्याको छ । सुनका गीलतीले चित्रकार भयाको । सुन–चाँदिका भाँडाले जगजगायमान भयाको । यस्ता बैठकमा ज्यावद भारदार लालटोप, कुर्थी, पुतली टोप लाई हजार बाह्र सय गोरा सावेहान्हरु बस्याका छन् । हीरा, पन्ना, मानिक, मोतीका गहना पैह्रा भारी गहना पोसाक लायाका मानु इन्द्रका अपसरा जस्ता लेडीहरु हजार–बाह्र सय आई साहेवान् र लेडीहरु खीचो भै बस्याका छन् । पात्साही बाजा बज्न लाग्याको छ ।
नेपालका श्री प्राइम मिनिष्टर साहेब उनका भाइ कर्णेल,काजी, सर्दार, कप्तान, लेपटेन्हरु पनि गयाका थिया । बादसाहबाट श्री प्राइम मिनिष्टरलाई डाकिन र केही मेवाहरु खान्छौ कि भनी सोधिन् र बादसाहका अगाडि हामीले खान हाम्रा रीतले बेमुनासीब हुन्छ भनी श्री मिनिष्टर साहेबले भन्दामा हांसीकन कुर्सीमा बस भनिन् र कुर्सिमा बस्या । ताहाँ बरोबर नाच–तमाशा हुन लाग्याको थियो । सब लेडीहरु साहेवानहरु नाच्दथ्या । थोरा बेरमा आफै कुइन् साहेवानहरुसित बराबर नाच्न लागिन् । मैले नाच्याको नेपालको मिनिष्टर साहेबले राम्रा मान्या कि मानेनन् भनी आपसमा कुरा गर्दै नाच्दै, हाँस्दै साहेवान्हरु, लेडीहरु कोही नाच्दछन् कोही हिडीरहन्छन् । कोही बसिरह्याका छन् । ताहाँ छोटा–बडा कोही नमान्या, बेप्रभापसित रहन्या । यस्तो तमाशा भयो ।
एक दिन अप्सरा जस्ता परीको नाच हेर्न कुइनले मिनिष्टर साहेबलाई डाक्न पठाइन् र पाउलाग्नुभयो । ताहाँ परीको नाच हुन लाग्याको थियो । ती परी कस्ता थिया भन्या तिनका रुपको, नाचको बयान गर्न सकिदैन । इन्द्रका अप्सरा कामकन्दला, उर्वसीको नाच, गाउना, रुपको बयान गर्न सहस्र जिभ्रा भयाको शेषले पनि सक्दैन भनी कोही कथामा सुनिन्छ तस्तै तमाशा भयो । त्यही बीचमा कुइन्ले मिनिष्टर साहेबलाई यो नाच राम्रो लाग्यो कि भनी सोधनी् र बहुत राम्रो लाग्यो भनी मर्जी भयो । फेरि गीदको अर्थ बुझदछौ कि भन्दा गीदका अर्थ ता बुझदिन जस्तै बुलबुल बोल्दामा मानिसहरु राम्रो मानी सुन्दछन् तस्तै राम्रो सुनिन्छ भनी मर्जी हुँदा खुस भइन् । बहुत होसियार रह्याछन् भनी अपसमा भनिन् ।
साभार ‘जंङ्गबहादुरको वेलायत यात्रा’ पुस्तकबाट
















