न्युयोर्कमा दुई नेपालीको मृत्यु, आफन्त विनै दाहसंस्कार

खसोखास।

न्युयोर्कमा ४० बर्ष कटेका दुईजना नेपालीको घरभित्रै मृत्यु भएको छ । मुस्ताङ घर भई न्युयोर्कको क्वीन्स जमैकामा बस्ने सोनाम लामा र ज्याक्सनहाइटमा बस्ने थोंग्वेन लामाको मृत्यु भएको नुप्री एसोसिएसनका पूर्व अध्यक्ष मिङमार लामाले जानकारी दिनुभयो ।

सोनाम अन्दाजी ४० बर्षका रहेका थिए भने उनको मृत्यु बस्दै आएको कोठाभित्रै भएको जनाइएको छ । जमैकामा एक्लै बस्दै आएका उनी केही दिनदेखि बिरामी रहेको बताइएको छ ।

फोन सम्पर्क गर्दा सम्पर्क नभएपछि उनी बसेको स्थानमा गएर हेर्दा उनी मृत अवस्थामा भेटिएका थिए । उनको मृत्यु कोरोना संक्रमणकै कारण भएको अनुमान गरिएपनि रिपोर्ट आउन भने बाँकी रहेको छ ।

झण्डै १८ बर्षदेखि अमेरिकामा बस्दै आएका सोनामको परिवार नेपालमा रहेको जनाइएको छ । उनको शव प्रहरीले लगेर गएको र उनका कुनै आफन्तहरु अमेरिकामा नभएका कारण त्यसपछि अवस्था अज्ञात रहेको छ ।

त्यस्तै झण्डै १२ बर्षदेखि अमेरिकामा बस्दै आएका थोंग्वेनको पनि ज्याक्सनहाइटमा बस्दै आएको अपार्टमेन्टमा मृत्यु भएको हो । विगत एकसातादेखि बिरामी रहेका उनले शव पनि प्रहरीले लगेर दाहसंस्कार गरिसकेको जनाइएको छ ।

उनी पनि कोरोना संक्रमणबाट मृत्यु भएको अनुमान गरिएको छ तर रिपोर्ट आउन भने बाँकी रहेको छ । थोंग्वेन पनि झण्डै ४० बर्षको उमेरका थिए ।

उनको दाहसंस्कारमा उनका दाजु र समुदायका अन्य व्यक्तिलाई पनि सहभागी हुन नदिइएको जनाइएको छ । थोंग्वेन का दुईवटा छोरा र श्रीमति काठमाडौंमा बस्दै आएका छन् ।

मृतक दुबैजना नेपाली नागरिक भएको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार