गणेश पाण्डेय, लिस्बन।
२८ मार्च, २०२० मा पोर्चुगलको प्रसिद्ध पत्रिका पुब्लिकोमा एउटा समाचार प्रकाशित भएको रहेछ। शिर्षक थियो , “ Governo regulariza todos os imigrantes que tenham pedidos pendentes no SEF” (हेर्नुहोस् तलको फोटो )

यो समाचारले आप्रवासी समुदायमा एउटा तरंग र खुशी ल्याईदियो। नल्याओस् पनि कसरि, यसले आप्रवासी समुदायमा केही राहत गरायो। तर जुन तरिकाले समाचारको सार नै नबुझी ब्याख्या गरियो, त्यो बिल्कुल गलत थियो ।
समाजका अगुवा, सामाजिक संस्थाका अगुवा, सामाजिक अभियन्ता, भाषाविद आदि अधिकांसले यसको ब्याख्या गलत गरिदिए, अनि आप्रवासी नेपालीहरुमा त्यही गलत सन्देशबाट गलत जानकारी प्राप्त गरे।
यहाँका आप्रवासीसंग सम्बन्धित संघसंस्था लगायत एनआरएनए ले पनि आफुहरुले पोर्चुगलको सरकारलाई दबाब दिएको र त्यसको फलस्वरूप यसको उपलब्धि भएको भनेर दाबी गरे। यहाँ जिन्दावाद र मुर्दावादको राजनीति चल्दैन, अनि यो देशको आप्रवासी नीति कसैको अनुरोध र दबाबमा परिवर्तन पनि हुदैन, यो सबैले बुझुन्।
उनीहरुले त्यो समाचारलाई सेफमा आबेदन दिएका सबै आप्रवासीहरुले अब रेसिडेन्सी कार्ड प्राप्त गर्नेछन भनेर ब्याख्या गरे, तर वास्तविकता त्यो होइन।
पोर्चुगलको सरकारले आप्रवासीहरुलाई न सित्तैमा रेसिडेन्सी कार्ड दिने निर्णय गरेको छ, न शुल्क तिरेर फटाफट दिने भनेको छ । यहाँको आप्रवासी नीतिमा केही परिवर्तन भएको छैन। सबैले बिध्यमान आप्रवासी नीति अन्तर्गत नै रहेर मात्रै रेसिडेन्सी प्राप्त गर्न सक्नेछन्।
तर कोरोना भाइरसको महामारीको समयमा पोर्चुगलको सरकारले गैर नागरिक, आप्रवासी र शरणार्थी सबैलाई पोर्चुगिज नागरिक सरह राज्यको आधारभूत सुबिधा दिने निर्णय गरेको हो।
१८ मार्च, २०२० सम्म सेफमा आवास अनुमतिका लागि आबेदन दिईसकेका सबैले उक्त सेवाहरु लिन सक्नेछन्।
# के हुन् आधारभूत सुविधाहरु ?
पोर्चुगलको सरकारले आधारभूत सेवामा राष्ट्रिय स्वस्थ्य सेवा, कल्याणकारी सुबिधा, बैंकिंग सुबिधा, काम र भाडाका सम्झौता आदि राखेको छ।

# सेफले दिएको सुबिधा खासमा के हो ?
आन्तरिक मामिला मन्त्रालयका प्रवक्ता क्लौदिया भेलोसोले भने, “स्वास्थ्य र सार्वजनिक सेवामा आप्रवासीहरू अधिकारबाट बञ्चित हुनु हुँदैन किनकि उनीहरूको आवेदन प्रक्रिया भैसकेको छैन। यी असाधारण समयमा, आप्रवासीहरूको अधिकारको ग्यारेन्टी हुनुपर्दछ।”
शरणार्थीहरू लगायत सम्पूर्ण आवेदकहरूलाई योग्य हुनको लागि चलिरहेको अनुरोधको प्रमाण मात्र अनिवार्य छ। आबेदन दिएका आप्रवासीहरुले सो प्रमाणलाई राष्ट्रिय स्वास्थ्य सेवा, कल्याणकारी सुविधा, बैंक खाता खोल्ने , काम र घरभाडा सम्झौताहरूका लागि प्रयोग गर्न सक्नेछन् ।
# के सेफले अब आवेदन दिएका सबैलाई रेसिडेन्सी कार्ड धमाधम दिन्छ ?
सेफमा अस्थाई आवास अनुमतिका लागि आबेदन दिएका आप्रवासीहरुलाई धमाधम या सित्तैमा रेसिडेन्सी दिने हल्लाहरु सबै गलत हुन्। त्यससम्बन्धमा पोर्चुगलको सरकार ले कुनै निर्णय गरेको छैन, सेफ पोर्चुगलको सरकार अन्तरगतको एउटा निकाय मात्रै हो।

आपतकालीन यो समयमा रेसिडेन्सी भैनसकेका आप्रवासीहरुलाई कानुनी झमेला नहोस् भनेर सेफले अनलाइन पोर्टलमा दर्ता भएका वा आबेदन दिएकाहरुले त्यसको प्रमाण प्रिन्ट गर्नसक्ने सुबिधा प्रदान गरेको छ ( माथि चित्रमा )। आबेदन दिएको सो प्रमाणले रेसिडेन्सी प्राप्त नगरेका आप्रवासीहरुले निम्न सेवाहरु पोर्चुगिज नागरिक वा रेसिडेन्सी प्राप्त आप्रवासी सरह लिन सक्नेछन्।
* राष्ट्रिय स्वास्थ्य सेवा
* कल्याणकारी सुविधा ( सामाजिक सुरक्षा )
* बैंक खाता खोल्ने
* कामको सम्झौता
* घरभाडा सम्झौता
* आवश्यक नागरिक सेवाहरु प्रयोग गर्न

# सेफमा बुझाएका आबेदनहरु के हुन्छन ?
कोरोना संक्रमणका कारण रोकथामका लागि पोर्चुगलमा आपतकाल अवस्थाको घोषणा गरिएको छ। मार्च ३० तारिख, २०२० बाट अत्यावश्यक बाहेक सेफका सम्पुर्ण नियमित र नागरिक सेवाहरुबन्द गरिएको छ। अर्को सूचना प्रकाशित नहुन्जेलसम्मका लागि सेफमा पुर्व निर्धारित गरिएका अपोइण्ट्मेण्टहरु रद्ध गरिएका छन्। स्थिति सामान्य भएसंगै सेफले आफ्ना नियमित नागरिक सेवाहरु सुचारु गर्नेछ र रद्ध गरिएका अपोइण्ट्मेण्टहरुको बारेमा संचारका आफ्ना च्यानलहरु मार्फत सेवाग्राहीलाई सम्पर्क गर्दै नयाँ अपोइण्ट्मेण्टहरुको व्यवस्था गर्नेछ।
# सेफबाट कुनै सूचना वा जानकारी लिनुपरे के गर्ने ?
यदि तपाईलाई सेफ़बट कुनै पनि जानकारी चाहिएमा फोन वा ईमेलमार्फत सम्पर्क गर्न सकिनेछ ।
– सेफलाई ८०८ २०२ ६५३ र ८०८ ९६२ ६९० गरी दुई नम्बरमा सम्पर्क गर्न सकिनेछ ।
– त्यसैगरी ईमेल gricrp.cc@sef.pt मा पनि सेफको कार्यालयसँग सूचना आदानप्रदान गर्न सकिनेछ ।
















