लिस्बन।
पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो दे सौजाले देशमा संकटकाल १ मे सम्मका लागि लम्ब्याउने घोषणा गरेका छन्।
कोरोनाको बिश्व महामारीको चपेटामा पोर्चुगल पनि परेपछि राष्ट्रपतिले मार्च १९ तारिखबाट देशमा १५ दिनको लागि संकटकालको घोषणा गरेका थिए।
कोरोना संक्रमण रोकथाम हुनुको साटो संक्रमण बढ्दै गएपछि राष्ट्रपतिको आग्रहमा संसदले आगामी १७ तारिखसम्मका लागि संकटकाल नविकरण गरेको थियो ।
” कोरोना रोकथाम गर्न र नागरिकलाई सुरक्षित राख्न देशमा संकटकाल मे १ सम्म लम्ब्याउने निर्णय गरेको छु। यसका लागि कानुनी दस्ताबेज तयार भईसकेको छ। ” राष्ट्रपति मर्सेलोले भने।
कोरोना संक्रमणबाट आफ्ना नागरिकलाई सुरक्षित राख्न सरकारले यस्तो निर्णय गर्न लागेको हो।
पछिल्लो तथ्यांक अनुसार पोर्तुगलमा कोरोना भाइरस (कोभिड – १९) को संक्रमणबाट मृत्यु हुनेको संख्या ४३५ पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट २६ को मृत्यु भएको छ ।
हालसम्म १५ हजार ४७२ संक्रमित भएको राष्ट्रिय स्वास्थ्य महानिर्देशनालयले पत्रकार सम्मेलनमा जानकारी गराएको छ ।
पोर्तुगलमा २३३ जना संक्रमित अस्पतालमा उपचारपछि सामान्य जीवनमा फर्किसकेका छन् ।
महानिर्देशनालयको तथ्याङ्कअनुसार संक्रमितहरुमध्ये ११ सय ७९ लाई अस्पताल भर्ना गरिएको छ भने २२६ जनाको सघन कक्षमा उपचार भईरहेको छ।
एक लाख २३ हजार ५६४ जनालाई संक्रमण भएको हुनसक्ने आशंका गरिएको छ ।
















