
कम्तीमा २० देशमा रहेका नेपालीमा कोरोनाभाइरसको सङ्क्रमण देखा परेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
मन्त्रालयको विवरणमा भारतसहित ती देशहरूमा पुष्टि भएका सङ्क्रमितको नेपालीको सङ्ख्या करिब दुई सय रहेको उल्लेख छ।
कतिपय देशबाट तथ्याङ्क नपाइएको उल्लेख गरिएको विवरणमा अमेरिका, ब्रिटेन र खाडी देशमा रहेका नेपालीहरू कोरोनाभाइरसका कारण बढी प्रभावित भएको देखिन्छ।
वासिङ्टन डिसीस्थित नेपाली राजदूत अर्जुनकुमार कार्कीले परिवार र समुदायमा नराम्रो सन्देश जाने कारणले कैयौँ नेपालीहरू खुल्न नचाहेकाले वास्तविक विवरण पाउन नसकिएको बताए।
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले नेपाली समुदाय र स्थानीय सरकारसँग सम्पर्कमा रहन र सुरक्षाका उपाय अपनाउन विदेशस्थित नियोगहरूलाई निर्देशन दिइएको बताएका छन्। – बिबिसी।
















