बनेपा : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको सुरक्षाका लागि खुलेको म्यादी प्रहरी बन्न बाबु-छोरी नै लागिपरेका छन् । बनेपा नगरपालिका-६ मा बस्दै आएका ४८ वर्षीय हिमनिम तिम्बा शेर्पा र उनका छोरीहरू स्नातक अध्ययनरत मिङ्मा, कक्षा १२ मा अध्ययनरत निमदिकी शेर्पा म्यादी छनोटमा सहभागी भएका छन् ।

धुलिखेलस्थित जिल्ला प्रहरी कार्यालयमा भएको छनोटमा तीन बाबुछोरीले एकैपटक शारीरिक र लिखित परीक्षा दिएका हुन् । शेर्पा परिवारले धुलिखेलमा होटल व्यवसाय गर्दै आएको छ । पैसाभन्दा पनि राष्ट्रसेवाका लागि म्यादीमा जागिर खान आएको निमदिकीले बताइन् ।
‘बुवा भूपू सैनिक हुनुहुन्छ भने दिदी डिप्लोमा र म प्लस टुमा पढ्दै छु’, उनले भनिन्, ‘हामी पैसा कमाउनेभन्दा पनि देशको सेवा गर्ने उद्देश्यले म्यादी बन्न आएका हौं ।’ बूढेसकालले छोए पनि छोरीहरूसँगै देशको सेवा गर्न लागिपर्दा खुसी लागेको हिमनिमले बताए । ‘हामीलाई बाध्यताभन्दा बढी रहर लागेको छ’, उनले भने, ‘छोरीहरूसँग प्रतियोगिता गर्दै एकैसाथ पीटी परेडमा सहभागी हुन पाउनु खुसीको कुरा हो ।’ शारीरिक रूपमा मोटो भए पनि बाबुछोरीले एक किलोमिटर दौड, पुसअप, सेटअप उत्तीर्ण गरी लिखित परीक्षा दिए ।
मण्डनदेउपुर नगरपालिकाको जोगिटारकी २२ वर्षीया अनिता नेपालले भने केरा, पानी र दही खाएर तौल पुर्याइन् । ‘म्यादी बन्ने रहरभन्दा नि मेरो बाध्यता हो’, उनले भनिन्, ‘भूकम्पले भत्किएको घर र परिवारको दुःख मेटाउन म्यादी प्रहरीमा जागिर खान आएकी हुँ ।’ भूकम्पमा घर भत्किएर परिवार पाल्ने दाजुको मृत्यु भएको उनले सुनाइन् । ‘नयाँ घर बनाउने र परिवारको समस्या समाधान गर्न म्यादी प्रहरी बनें’, उनले भनिन्, ‘मलाई जसरी पनि म्यादी प्रहरीमा छनोट हुनुथ्यो । त्यसैले तौल नपुगे पनि दही, केरा, पानी खाएर चार किलो तौल बढाएर शारीरिक परीक्षा उत्तीर्ण गरें ।
बढ्दो बेरोजगारीका कारण म्यादी प्रहरीमा शिक्षितकै धेरै सहभागिता रहेको काभ्रेका एसपी सहकुल थापाले जानकारी दिए । उनका अनुसार काभ्रेमा आवश्यक म्यादी संख्या १५ सय १६ छ । त्यसका लागि ३४ सय ५५ जनाले फारम भरेका थिए । सामान्य लेखपढ गर्न जान्नेलाई पनि अवसर प्रदान गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी महेन्द्र मरासिनीले जानकारी दिए । उनका अनुसार प्रारम्भिक स्वास्थ्य परीक्षणबाट झन्डै पाँच सय व्यक्ति अयोग्य देखिएका छन् । म्यादी बन्न एकै घरका तीनजनासम्म सहभागी भएको उनले सुनाए ।
















